Online Nepal शनिबार, जेष्ठ ५ २०८१

गोरखाको पालुङटारमा कांग्रेस र जसपाबीच तालमेल नहुने

गोरखाको पालुङटारमा कांग्रेस र जसपाबीच तालमेल नहुने


मध्यान्तर
  • बुधबार, बैशाख २१ २०७९

  • काठमाडौं । अन्ततः गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच तालमेल नहुने भएको छ ।

    कांग्रेस र जसपाको केन्द्रले  पालुङटारमा कांग्रेसले जसपाका मेयरलाई सहयोग गर्ने सहमति गरे पनि जिल्लास्तरमा सहमति नजुटेपछि तालमेल नहुने भएको हो ।

    नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले बुधबार एक विज्ञप्ति जारी गरी केन्द्रको निर्देशन बमोजिम जिल्लामा वडा तहसम्म तालमेलको प्रयास गर्दा दुबै दलका नेता कार्यकर्ताले एक्लाएक्लै प्रतिस्पर्धामा जाने राय दिएको बताएका छन् । त्यसपछि दुबै दलबीच एकल एकल रुपमा नै प्रतिस्पर्धा गर्ने सहमति भएको न्यौपानेले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    यसअघि कांग्रेस र जसपाको शीर्ष नेतृत्वबीच पालुङटारको मेयरमा जसपालाई कांग्रेसले र उपमेयरमा कांग्रेसलाई जसपाले सहयोग गर्ने सहमति भएको थियो ।

    त्यस्तै गोरखा नगरपालिकाको मेयरमा जसपाले कांग्रेसलाई सहयोग गर्ने भनिएको थियो, उपमेयरबारे कुनै सहमति भएको थिएन । जसपाले गोरखा नगरपालिकाको उपमेयरमा कांग्रेसले आफूहरुलाई सहयोग गर्नुपर्ने माग गर्दै आएको थियो र कांग्रेसले अस्वीकार गरेको थियो ।

    मंगलबार कांग्रेस र जसपाको जिल्ला नेतृत्व पालुङटार नगरपालिकाको वडास्तरमा तालमेलको विषयमा छलफलमा बसेका थिए । तर वडा भागवण्डामा सहमति नजुटेपछि दुबै दल मेयर र उपमेयरमा पनि तालमेल नगर्ने निश्कर्षमा पुगेका हुन् ।

     

    प्रतिक्रिया
    थप समाचार