Online Nepal बिहिबार, बैशाख ६ २०८१

सभामुखको अभिव्यक्तिले समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको छ : महासंघ

सभामुखको अभिव्यक्तिले समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको छ : महासंघ


मध्यान्तर
  • शनिबार, चैत्र ४ २०७९

  • काठमाडौं । नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेले शुक्रबार दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । शनिबार महासंघका महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गर्दै सभामुखको अभिव्यक्तिले समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको जनाएका छन् ।

    शुक्रबार नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डल बधाई ज्ञापन र संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनका विषयमा छलफल गर्न सभामुख घिमिरेललाई भेट्न गएको थियो । उक्त क्रममा सभामुख घिमिरेले पत्रकारहरू र महासंघ बिक्रीमा रहेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए ।

    महासंघको विज्ञप्तिमा भनिएको छ, सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् छ ।

    सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासंघको नेतृत्वले सभामुखको सचिवालयमार्फत ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त आधारहीन अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेको विज्ञप्तिमा भनिएको छ । सभामुख घिमिरेलाई आरोप पुष्टि गर्न वा आरोप फिर्ता लिन आग्रहसमेत गरेको छ ।

    महासंघ जननिर्वाचित संसद् र त्यसको नेतृत्व नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पूर्ण प्रतिबद्ध भएको व्यवहारमा देख्न चाहन्छ । साथै आफ्ना आरोपहरू पुष्टि गर्न वा आधारहीन आरोप फिर्ता लिई सञ्चार क्षेत्रको संवैधानिक अधिकार र स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्धता जनाउन सभामुखसमक्ष महासंघ आग्रह गर्दछ, महासंघको विज्ञप्तिमा भनिएको छ ।

    प्रतिक्रिया
    थप समाचार