Online Nepal सोमबार, बैशाख १७ २०८१

जो बाइडेन र सी जिनपिङबीच भेटवार्ता

जो बाइडेन र सी जिनपिङबीच भेटवार्ता


मध्यान्तर
  • बिहिबार, कार्तिक ३० २०८०

  • काठमाडौं । दुई शत्तिराष्ट्र अमेरिका र चीनका राष्ट्रपतिबीच भेटवार्ता भएको छ । अमेरिकाको क्यालिफोर्नियामा आयोजित एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिनपिङबीच सनफ्रान्सिस्कोस्थित फिलोली एस्टेटमा भेटवार्ता भएको हो ।

    दुई देशबीचको तिक्त सम्बन्ध सुधार्न बाइडेन र सीबीचको यो भेटवार्ता लामो समयदेखिको तिक्तता घटना सहयोगी बन्ने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम सीएनएनले जनाएको छ।

    भेटवार्तापछि करिब २० मिनेट लामो पत्रकार भेटघाटमा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र चीन बीच सैन्य सम्पर्क फेरि स्थापित हुने जनाइएको छ  ।

    चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सीले दुवै देशले संयुक्त रुपमा सही धारणा विकसित गर्नुपर्ने बताएका थिए । उनले अमेरिकासँग द्विपक्षीय सम्बन्ध सुमधुर बनाउनका लागि अधिक सञ्चार, अधिक सम्वाद र अधिक परामर्शमा जोड दिएका थिए ।

    अमेरिकासँग सधैं स्थीर, स्वस्थ र टिकाउ सम्बन्ध राख्न चीन प्रतिबद्ध रहेको भन्दै सीले एक अर्कालाई सम्मान गर्दै शान्ति र सहअस्तित्वको सम्बन्धमा जोड दिएका थिए ।

    अमेरिका र चीन बीच अविश्वासको खाडल हुन नहुने भन्दै सीले भने, ‘अमेरिका र चीनलाई अलग्याउने असहमतिको खाडल हुनुहुँदैन । यसको सट्टा दुवै पक्षलाई जोड्ने पुल बनाउने तरिका खोज्नु आवश्यक छ ।’

    विश्वका दुई शक्ति राष्ट्र अमेरिका र चीनबीच दक्षिण चीन सागरमा सैन्य गतिविधि, इजरायल-हमास युद्ध, रुस-युक्रेन युद्ध लगायतका कयौं विषयमा गहिरो मतभेद छ ।

    व्यापार युद्ध लगायतका कारणले लामो समयदेखि सम्बन्ध बिग्रिएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने ५ खर्ब ५० अर्ब डलरभन्दा बढी मूल्यका सामग्रीमा अतिरिक्त भन्सार शुल्क लगाइदिएका थिए । चीनले पनि सोही शैली अपनाउँदै अमेरिकी सामग्रीमा अतिरिक्त भन्सार शुल्क लगाएर जवाफ फर्काएको थियो ।

    पछिल्लो समय चीनको एक बेलुनलाई अमेरिकाले जासुसी बेलुन भन्दै समुद्रमा खसालिदिएपछि र अमेरिकी प्रतिनिधि सभाको तत्कालीन सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको थियो । यसबाट रुष्ट चीनले अमेरिकासँगको सैन्य सम्पर्क बन्द गरेको थियो ।

    दुई राष्ट्रपति बीच भएको भेटपछि भने अमेरिकी राष्ट्रपति बाइडेनले सैन्य सम्पर्क पुनः बहाल हुने र चिनियाँ राष्ट्रपति सीसँग सम्वाद जारी रहने बताएका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार