Online Nepal शुक्रबार, बैशाख २१ २०८१

पोखराको गण्डकी बोर्डिङ स्कुलले कानुन विपरीत रूख काटेको भन्दै प्रधानाध्यापकसहित ८ जनाविरुद्धा मुद्दा दर्ता

पोखराको गण्डकी बोर्डिङ स्कुलले कानुन विपरीत रूख काटेको भन्दै प्रधानाध्यापकसहित ८ जनाविरुद्धा मुद्दा दर्ता


मध्यान्तर
  • शनिबार, बैशाख १ २०८१

  • काठमाडौं । पोखराको गण्डकी बोर्डिङ स्कुलले कानुन विपरित विद्यालयभित्र रहेका रूख काटेर बिक्री गरिएको भन्दै स्कूलका प्रधानाध्यापकसहित ८ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ ।

    प्रचलित वन ऐनविपरित विद्यालय परिसरमा रहेको रुख काटेर बिक्री गरेको भन्दै डिभिजन वन कार्यालय कास्कीले प्रधानाध्यापक वीरेन्द्र खड्कासहित ८ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो ।

    सार्वजनिक गुठी सञ्चालन गरेको विद्यालयमा खेलकुद ग्राउण्ड, छात्राबास र स्कूलको कम्पाउण्ड बालसंग जोडिएका सिसौ, सल्ला लगायतका विभिन्न २५ वटा रूख काटिएको थियो । अनुसन्धान गर्दा वन नियमावली, २०७९ अनुसार प्रक्रिया पूरा नगरिएको पाएको डिभिजन वन कार्यालय कास्कीले जनाएको छ ।

    वन ऐन, २०७६ को दफा ४९ को उपदफा ९घ० अनुसारको कसूर गरी विगो मूल्य ३ लाख ७९ हजार ४ सय बराबरको वन पैदावार हानीनोक्सानी गरेको पुष्टि हुन आएको डिभिजन वन कार्यालय कास्कीले जनाएको छ ।

    ऐनको दफा ५० को उपदफा १४ बमोजिम बिगो असुल गरी १० हजार जरिवाना तथा ६ महिनासम्म कैद सजायको मागदावी गर्नै डिभिजन वन कार्यालय कास्कीले चैत २७ गते जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गराएका हुन् ।

    वन कार्यालयले प्रधानाध्यापक वीरेन्द्र खड्कासहित लोकबहादुर थापा, सोनी गुरूङ थापा, कृष्णबहादुर थापा, कृष्णप्रसाद अधिकारी, सन्तबहादुर विश्वकर्मा, रामप्रसाद लामिछाने र यज्ञराज शर्माविरुद्ध मुद्दा दर्ता गराएको हो ।

     

    प्रतिक्रिया
    थप समाचार