काठमाडौँ । घाँस काट्ने क्रममा रुखबाट लडेर मकवानपुरमा एकजना महिलाको मृत्यु भएको छ।
भीमफेदी गाउँपालिका–१ किसेडी बलटोलमा घाँस काट्ने क्रममा रुखबाट लडेर ४५ वर्षीया कमला स्याङतानको मृत्यु भएको हो। स्याङतान आइतबार बिहान घरदेखि करिब एक किलोमिटर उत्तरतर्फ रहेको जंगलमा घाँस काट्न गएकी थिइन्।
रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर उनी गम्भीर घाइते भएकी थिइन्। जंगलमा घाँस काट्न गएका स्थानीयले उनलाई घाइते अवस्थामा देखेपछि आफन्तलाई खबर गरेका थिए।
घाइते स्याङतानलाई उनका छोराले उपचारका लागि हेटौँडा अस्पताल ल्याएका थिए। अस्पतालमा चिकित्सकले जाँच गर्ने क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ भैँसे प्रहरी पोष्टबाट प्रहरी सहायक निरीक्षक भरतकुमार खड्काको टोली घटनास्थलतर्फ खटिएको थियो। शव परीक्षणपछि मृतकका भाइ मोहन बलले बुझेर लगेको प्रहरीले जनाएको छ।