Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

शिवम् सिमेन्ट ॠणमुक्त ,यो बर्ष १५ प्रतिशत लाभांश दिन सक्ने

शिवम् सिमेन्ट ॠणमुक्त ,यो बर्ष १५ प्रतिशत लाभांश दिन सक्ने


मध्यान्तर
  • शुक्रबार, भाद्र २६ २०७७

  • काठमाडौं । शिवम् सिमेन्ट कम्पनी  ऋण मुक्त भएको  छ। उसले लिएको सम्पूर्ण बैंक ऋण चुक्ता गर्दै “लोन फ्री” कम्पनीको रुपमा चिनिएको छ । कम्पनीले स्थापनाकालदेखि  थुप्रै बैंकसँग करिब पाँच अर्ब रुपैयाँ ऋण लिएको थियो। उसले हाल सबै ऋण चुक्ता गरेको जनाएको छ।

    कम्पनीका अनुसार नेपाल बैंक, नबिल बैंक, नेपाल एसबिआइ बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक लगायतका बैंकबाट कम्पनीले ऋण लिएको थियो। कम्पनीले यी सबै बैंकहरूबाट पाँच सय करोड रुपैयाँ ऋण चलाएको थियो। कम्पनीले लिएको ऋण करिब सात वर्षमा चुक्ता भएको हो। यति बेला कम्पनी “लोन फ्री” भएको छ।

    त्यस्तै कम्पनीले ऋण मात्रै चुक्ता गरेको छैन उसले लिएको ऋणबाट अर्को सिमेन्ट कारखानामा समेत लगानी गरेको छ। कम्पनीले लिएको पाँच सय करोड ऋणमध्येबाटै तीन सय ६० करोड रुपैयाँ होङसी शिवम् सिमेन्टमा लगानी गरेको जनाएको छ। त्यसबाट समेत कम्पनीले केही वर्षपछि आम्दानी गर्न शुरु गर्ने जनाएको छ ।

    उक्त कम्पनी नेपालकै सबैभन्दा ठूलो सिमेन्ट कारखाना हो। चीनको हंङ्कङ् रेड लायन ३ लिमिटेड सिमेन्ट कम्पनी र शिवम् सिमेन्टको संयुक्त लगानीमा यो सिमेन्ट कारखाना बनेको हो। उक्त कारखाना तयार गर्न पनि बैंकबाट प्रशस्त ऋण लिइएको छ। उसको करिब १८ अर्ब रुपैयाँ बैंक ऋण रहेको भनाइ छ। तर उसले समेत बिस्तारै ऋण घटाउन शुरु गरिसकेको छ। उसले ऋण चुक्ता गरेपछि त्यसको समेत फाइदा शिवमले पाउन शुरु गर्नेछ। तर, त्यसको लाभांश आउन भने शेयरधनीले अझै केही वर्ष पर्खनु पर्नेछ।

    त्यस अवधिसम्म कम्पनीले शेयरधनीलाई आफ्नै कमाइबाट लाभांश दिने योजनामा काम गरिरहेको छ। जसका लागि कम्पनीले बैंकमा निक्षेप समेत राखेको छ। उसले १५ करोड रुपैयाँ मुद्दती निक्षेपमा राखेको जनाएको । कम्पनीले गत बर्षको अनुपातमा लाभांश बितरण गर्ने योजना बनाएको छ  ।  गत वर्ष कम्पनीले १५ प्रतिशत लगनीकर्ताहरुलाइ लाभांश बाडेको थियो ।

    गत आवको मसान्तसम्ममा कम्पनीले १ अर्ब ५ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ४५ करोड ६२ लाख रुपैयाँ कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ५१ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ११ अर्ब ३४ करोड ५१ लाख रुपैयाँबाट घटेर ९ अर्ब ९० लाख रुपैयाँमा सीमित भएको छ। कम्पनीको ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ।

    प्रतिक्रिया
    थप समाचार