Online Nepal शनिबार, जेष्ठ ५ २०८१

कुलतमा फस्ने बढि हुनेखानेकै छोराछोरी

कुलतमा फस्ने बढि हुनेखानेकै छोराछोरी


मध्यान्तर
  • बिहिबार, पुष १२ २०७५

  • काठमाडौं । नृपालमा लागु औषधमा फस्नेहरुमा गरिब भन्दा हुनेखानेकै छोराराीहरु बढि रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उक्त जिल्लामा गरिब भन्दा हुनेखानेकै छोराछोरी बढि रहेका छन् । प्रहरीले मंसिर २७ गते नवलपरासी रामग्रामका दुर्गाप्रसाद चौधरीलाई स्याउको कार्टुनभित्र लैजाँदै गरको अवस्थामा लागूऔषधसहित सिद्धार्थ नगरपालिका–४ गल्लामण्डीबाट पक्राउ गर्‍यो । खानतलासीका क्रममा उनले बोकेको स्याउको कार्टुनबाट प्रहरीले डाइजोपाम, एम्पुल, नुफिन, फेनारगन नामक लागूऔषध बरामद गरेको थियो ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानले उनी लागूऔषधका सप्लायर्स भएको बुझिएको छ । यसरी लागूऔषध प्रयोगकर्ताले पछिल्लो समय प्रहरीलाई पनि छक्काउँदै ओसारपसारका लागि नयाँनयाँ उपाय अपनाउँदै गएको छ । दसगजापारिको भारतीय बजार सुनौली नौतनवाका औषधिपसलमा खुलेआम लागूऔषध पाइने हुँदा प्रहरीलाई नाका सुधार्न चुनौती थपिएका बेला ओसारपसारकर्ताले नयाँनयाँ उपाय अपनाउँदा प्रहरीलाई हैरानी थपिदिएको छ ।

    रुपन्देहीको दसगजापारि खुलेआम लागूऔषध बिक्रीवितरण हुने गर्दछ । प्रहरीका अनुसार सबैभन्दा धेरै लागूऔषध सेवनकर्ता स्थानीय नभई बाहिरको बढी भएको देखिएको छ । प्रहरीका अनुसार काठमाडौं, नारायणगढ, धादिङ, पोखरा क्षेत्रका युवा लागूऔषधको लतमा बढी फसेको देखिएको छ । रुपन्देही प्रहरी प्रमुख हृदय थापा भन्छन्, ‘लागूऔषध आफैँमा महँगो चिज भएको हुँदा यसको प्रयोगकर्ता पनि सम्पन्नशाली परिवारका सदस्य रहेको देखिएको छ ।’ प्रहरीका अनुसार आर्थिक हिसाबले सम्पन्नशाली तर बुबाआमाको रेखदेखबाट बाहिर रहेका लागूऔषधको लतमा फसेका छन् ।

    सीमा क्षेत्रमा लागूऔषध सेवनकर्ता र ओसारपसार गर्नेको संख्या वृद्धि हुँदै गएपछि ०७४ माघ ८ देखि लागूऔषध नियन्त्रणका लागि सिमानाका बेलहियामा दैनिक रूपमा नेपाल प्रहरी र स्थानीय संघसंस्थाले संयुक्त रुपमा अभियान सञ्चालन गरिरहेका छन् । भर्खरै सरुवा भएर गएका इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक वीरबहादुर थापाको नेतृत्वले बेलहियामा लागूऔषध नियन्त्रणमा उल्लेखनीय काम गरेको बेलहियाका स्थानीय बासिन्दा डा। शान्तकुमार शर्माले जनाए । नेपाल–भारत मैत्री समाजका अध्यक्षसमेत रहेका डा। शर्माका अनुसार सीमापारिको प्रहरी प्रशासन र नागरिकसँग मिलेर लागूऔषध सम्बन्धमा जनचेतना फैलाएमा प्रभावकारी हुनेछ ।

    प्रहरीले सीमा क्षेत्रमा विशेष अभियान सञ्चालन गरेको थियो । सोही अभियानको प्रतिफल लागूऔषधको मुद्दा घटेको बुझिएको छ । अर्कोतर्फ रुपन्देही प्रहरीले विगतमा मात्राका आधारमा सुधार गृहमा पठाउने र मुद्दा चलाउने गरिएकामा अहिले जत्तिसुकै सानो परिणाम भए तापनि मुद्दा चल्न थालेपछि यो दर घटेको हुन सक्ने बुझिएको छ ।

    दसगजापारि सुनौली बजारमा रहेका समीर मेडिकल, किसान मेडिकल र अजमेरी मेडिकलले खुलेआम औषधिजन्य लागूपदार्थ बिक्रीवितरण गरिरहेका छन् । नेपाल–भारत काउन्टरपार्ट बैठकमा लागूऔषधका विषयमा नेपाली पक्षले जोडदार रुपमा सीमावर्ती क्षेत्रका मेडिकलमा लागूऔषधको भइरहेको बिक्रीवितरणमा रोक लगाउन माग गरेको भए तापनि त्यसको खासै सुनुवाइ भएको छैन । यद्यपि भारतीय प्रहरीले ब्राउन सुगरको व्यापार गर्दै आएकालाई भने पक्राउ गर्ने गरेको छ ।

    बेलहिया नाकामा लागूऔषध नियन्त्रणकै लागि लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा प्रहरी निरीक्षकको कमान्डमा सञ्चालित छ । सिभिलमा जिल्लाभरि खटिने यो टोलीको काम खासै प्रभावकारी देखिन सकेको छैन । उक्त टोलीले भन्दा प्रहरीको जिल्ला र इलाका प्रहरी कार्यालय बेलहियाको रेकी टोलीले लागूऔषध ओसारपसार र प्रयोगकर्तालाई बढी पक्रिने गरेको तथ्यांकले सिद्ध गरेको छ । रुपन्देही प्रहरीले कडाइ गरेपछि लागूऔषध प्रयोगकर्ताहरु कपिलवस्तु नाकातर्फ हानिएको बुझिएको छ ।

    रुपन्देहीमा १० वटा लागूऔषध पुनस्र्थापना केन्द्र दर्ता भएर सञ्चालनमा छन् । तीमध्ये अधिकांश मापदण्डअनुसार पूर्ण छैनन् । जिल्लामा कृपा समूह, करुणा चौतारी फाउन्डेसन, आशा फाउन्डेसन, लुम्बिनी समाज सहयोग समूह, नवयात्रा लागूऔषध उपचार, युनाइटेड लुम्बिनी, लाइफ केअर ड्रग्स तथा अल्कोल ट्रिटमेन्ट, टेवा, युथ भिजन र संकल्प समूह सुधागृहका रूपमा सञ्चालनमा छन् । चौतारी फाउन्डेसनबाहेक अन्य सबै सुधारगृह भाडाको घरमा सञ्चालित छन् । अधिकांश सुधारगृह यातनागृह जस्तै भएका छन् ।

    चिकित्सकहरु पनि नियमित छैनन् । शुद्ध खानेपानी र स्वस्थ आहारको व्यवस्था पनि छैन । सुधारगृहमा प्रत्येक महिना सेवाग्राहीबाट कम्तीमा १२ हजारदेखि बढीमा २० हजार रुपैयाँसम्म शुल्क लिने गरिएको छ ।

    बेलहिया नाकाबाट लागूऔषध ओसारपसारमा कमी आएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२/०७३ देखि चालू आर्थिक वर्षको मंसिर मसान्तसम्मको मुद्दा संख्या र पक्राउ संख्याले यस्तो देखाएको हो ।

    आर्थिक वर्ष २०७२२/२०७३ मा लागूऔषधसम्बन्धी तीन सय २८ वटा मुद्दा दर्ता भएका थिए । उक्त आर्थिक वर्षमा चार सय ७० जना पक्राउ परेका थिए । यसैगरी आर्थिक वर्ष ०७३/०७४ मा चार सय नौ लागूऔषध मुद्दा दर्ता भएका थिए भने पाँच सय ८१ जना पक्राउ परेका थिए ।

    आर्थिक वर्ष ०७४/०७५ मा मुद्दा तीन सय २५ छ भने पक्राउ संख्या चार सय ८१ रहेको छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ९७ वटा दर्ता भइसकेका छन् भने अहिलेसम्म एक सय ५१ जना पक्राउ परेका छन् । प्रहरी सक्रियताले सीमा क्षेत्रबाट हुने लागूऔषध ओसारपसार र प्रयोगकर्ताको संख्या घटेको रुपन्देही प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए । तर पनि जिल्ला प्रहरी कार्यालयको हिरासतमा ९० प्रतिशत थुनुवा अझै पनि लागूऔषध मुद्दा खेपिरहेका छन् ।

    प्रतिक्रिया
    थप समाचार