Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

जापानमा रोजगारीः श्रम सम्झौताको अन्तिम तयारी, अप्रिल देखि कामदार छनोट प्रक्रिया सुरु हुने

जापानमा रोजगारीः श्रम सम्झौताको अन्तिम तयारी, अप्रिल देखि कामदार छनोट प्रक्रिया सुरु हुने


मध्यान्तर
  • मंगलबार, फाल्गुन २१ २०७५

  • काठमाडौं । जापान सरकारले काम गर्ने जनशक्तिको अभाव हुन थालेपछि विदेशी कामदार भित्र्याउने नीति लिएसँगै रोजगारीको लागि नेपालीलाई पनि जापान जाने बाटो खुला हुने भएको छ । जापानले नेपालबाट कामदार लाने सवालमा श्रम सम्झौता गर्ने अन्तिम तयारी गरिरहेको छ । नेपाली कामदार लैजान जापानी र नेपाली प्राविधिक टोलीबीच निरन्तरको छलफलपछि सरकारी संयन्त्रमार्फत कामदार पठाउन यहि मार्च महिनामै श्रम सम्झौता गर्ने तयारी भइरहेको हो । मार्च महिना भित्रै सम्झौता हुने गरी प्रक्रिया अघि बढाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानाएको छ।

    कामदार पठाउन वैदेशिक रोजगार विभागमा छुट्टै संयन्त्र बनाएर काम गर्न दुवै मुलुक सहमत भइसकेका छन्। मन्त्रालयका अनुसार कामदार पठाउने प्रक्रिया अप्रिलदेखि सुरु हुनेछ। त्यसअघि भाषा परीक्षा सञ्चालन गर्ने तयारी छ। ‘अप्रिलदेखि नै कामदार भर्ना छनोट सुरु हुनेछ’, मन्त्रालय स्रोतले भन्यो, ‘त्यसअघि भाषा परीक्षा हुन्छ।’

    जापानसँग यसअघि प्रशिक्षार्थी कामदार लैजाने सम्झौता भए पनि कार्यान्वयनमा आउन सकेको थिएन। जापान नेपालीका लागि आकर्षक गन्तव्य मुलुक मानिन्छ। जापानमा कामदारले न्यूनतम दुई लाख रुपैयाँभन्दा बढी पारि श्रमिक पाउँछन्। जापानले आफ्ना नागरिकसरह विदेशीलाई सेवासुविधा दिँदै आएको छ।

    नर्सिङ, सुरक्षा गार्ड, उत्पादनमूलक उद्योग, होटल तथा आतिथ्य व्यवसाय, कृषि, मत्स्य संकलन, खाद्य प्रशोधन तथा खाद्य आपूर्तिलगायत १४ वटा क्षेत्र जापानले आप्रवासी कामदारका लागि खुला गरेको हो। गाउँगाउँमा जापानिज भाषा पढ्नेको संख्या बढेको छ। विश्वभाषा क्याम्पसका शिक्षक हरिहर कार्कीले भाषा अध्ययन गर्दा ध्यान पुर्‍याउनुपर्ने बताए। ‘आफूले पढ्ने इन्स्टिच्युट तथा शिक्षक कस्तो छ, बुझेर मात्र भाषा अध्ययन गर्नु राम्रो हुन्छ’, उनले भने। अवैधानिकरूपमा स्थापना गरिएका संस्थालेसमेत भाषा पढाउने गरेकाले सजग हुन उनले सुझाए।

    मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले व्यवस्थित, सुरक्षित र मर्यादितरूपमा नेपाली श्रमिक जापान पठाउने सन्दर्भमा पारस्परिक हित प्रवद्र्धन हुने गरी समझदारी गरिने बताए। नेपालले पारदर्शी र प्रतिस्पर्धी पद्धतिबाट कामदार पठाउन चाहेको छ। आप्रवासनका क्षेत्रमा विश्वव्यापी रूपमा स्थापित भएका नवीनतम् मान्यता एवं मापदण्डअनुरूप श्रमिक पठाउने विषयमा जोड दिइएको घिमिरेले जानकारी दिए।

    विदेशी कामदार लैजाने नीतिअनुरुप जापानले नेपालसहित नौवटा देशबाट एकैचोटि कामदार लैजाने प्रक्रिया अघि बढाएको छ। जापानले नेपाल, चीन, इन्डोनेसिया, म्यानमार, मंगोलिया, थाइल्यान्ड, फिलिपिन्स, भियतनामलगायत देशबाट कामदार लैजाने तयारी गरेको छ।

    जापानले पाँच वर्षको अवधिमा तीन लाख ४५ हजार विदेशी कामदार लैजाने तयारी गरेको छ।

    प्रतिक्रिया
    थप समाचार