Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१
मेडिकल शिक्षा

विद्यार्थीसँग अवैध शुल्क उठाउँदै आएको किस्ट मेडिकल कलेजमाथि छानविन सुरु

विद्यार्थीसँग अवैध शुल्क उठाउँदै आएको किस्ट मेडिकल कलेजमाथि छानविन सुरु

अहिले कलेज प्रशासनको दवावमा उजुरी गर्ने विद्यार्थी पनि अप्ठ्यारोमा पार्ने डरले खुल्न सकेका छैनन् ।


मध्यान्तर
  • आइतबार, चैत्र ३ २०७५

  • काठमाडौं । मेडिकल शिक्षामा विद्यार्थीसँग अवैध शुल्क असुल गरिरहेको खुलासा भएपछि किस्ट मेडिकल कलेजमाथि छानविन सुरु भएको छ । विद्यार्थीबाट तोकिएभन्दा बढी र पटक–पटक विभिन्न शिर्षकमा अतिरिक्त शुल्क लिएको विषयमा एक राष्ट्रिय दैनिकले समाचार प्रकाशन गरेपछि कलेजको अवैध धन्दाबारे खुलासा भएको हो । कलेजको अवैध शुल्कविरुद्ध आवाज उठाउने वा उजुरी गर्ने विद्यार्थीलाई आन्तरिक परीक्षामा फेल गराएर बोर्डको परीक्षाबाट वञ्चित गर्ने गरेको समाचार बाहिरिएपछि प्रधानमन्त्री केपी ओलीले कलेजमाथि छानविन गर्न निर्देशन दिएका थिए ।

    शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालको नेतृत्वमा राष्ट्रिय सतर्कता केन्द्रका अधिकारीसहितको टोलीले छानबिन प्रक्रियालाई अगाडी बढाएको छ । प्रारम्भिक छानबिनमा कलेजले विद्यार्थीसँग लिएको अतिरिक्त रकम मेडिकल काउन्सिललाई बुझाउनुपर्ने भएकाले उठाएको बताएको छ । तर, मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. धर्मकान्त बास्कोटाले यस्तो कार्य गलत भएको भन्दै सरकारले तोकेको ३८ लाख ५० हजारभित्रै सबै किसिमका शुल्क समावेश भएकाले थप शुल्क उठाउन नपाइने बताए ।

    पटक–पटक अतिरिक्त शुल्क उठाउँदै आएको कलेजले गत असोजमा प्रतिविद्यार्थी ९० हजारका दरले थप शुल्क मागेको थियो । सो रकम नदिएमा परीक्षामा बस्न नदिने धम्की दिएपछि ६९ विद्यार्थीले जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी दिएका थिए । प्रशासनको हस्तक्षेपपछि कलेजले विद्यार्थीसँग अतिरिक्त रकम नलिने जनाएपनि कलेजले भित्रि रुपमा दवाव सिर्जना गरी थप शुल्क मात्र उठाएन, उजुरी गर्ने विद्यार्थीलाई छानीछानी फेल समेत गरायो ।

    शिक्षकले कापी जाँच्दा पास भएका विद्यार्थीलाई पनि सञ्चालकले फेल गराएका थिए । कलेजको आन्तरिक परीक्षामा फेल भएका विद्यार्थीले बोर्ड परीक्षा दिन पाउँदैनन् । त्यसैले विद्यार्थीले मेडिकल काउन्सिलमा उजुरी गरेका छन् । विद्यार्थीमाथि अन्याय भएको भन्दै दुई प्राध्यापकले राजीनामा समेत दिएका छन् । अहिले कलेज प्रशासनको दवावमा उजुरी गर्ने विद्यार्थी पनि अप्ठ्यारोमा पार्ने डरले खुल्न सकेका छैनन् । कलेजले मौन बसेमा शुल्क फिर्ता दिनेदेखि नतिजा सच्याइदिनेसम्मको प्रलोभन देखाइरहेको नाम उल्लेख नगर्ने सर्तमा एक विद्यार्थील भने– ‘अन्यथा आफ्नै भविष्य अन्योलमा पर्ने कलेजले धम्की दिएको छ ।

    मेडिकल कलेजबाट अवैध शुल्क लिइरहेको विषयमा छानविन भइरहेको शिक्षा मन्त्रालय सहसचिव डा. हरिप्रसाद लम्साल बताए । उनले भने– ‘प्रधानमन्त्रीले नै चासो दिएर सत्य–तथ्य पत्ता लगाउन छानविन गर्न निर्देशन दिनुभएपछि मसहितको टोलीले शुक्रबारबाट कलेजको शुल्क, परीक्षालगायत विषयमा छानबिन सुरु गरेका छौँ , केहि दिनभित्रै परिणाम बाहिर ल्याउने छौं।’ अहिले लम्सालसहित सतर्कता केन्द्रबाट एसपी कमलप्रसाद अधिकारी, शिक्षा मन्त्रालयका उपसचिव विष्णु मिश्र र सतर्कता केन्द्रकै प्रहरी निरीक्षक बुद्धिराम खनालको समुहले कलेजमाथि आवश्यक छानबिन गरिरहेको छ ।

    प्रतिक्रिया
    थप समाचार