Online Nepal आइतबार, जेष्ठ ६ २०८१

एसिसी महिला टी–२० च्याम्पियनसीप खेलमा नेपालको लगातार दोस्रो जित

एसिसी महिला टी–२० च्याम्पियनसीप खेलमा नेपालको लगातार दोस्रो जित


मध्यान्तर
  • शनिबार, असार ४ २०७९

  • काठमाडौँ । मलेसियामा जारी एसिसी महिला टी–२० च्याम्पियनसीप अन्तर्गत भएको खेलमा नेपालले कुवेतलाई २५ रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।

    किनरारा ओभल मैदानमा शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले च्याम्पियनसीपमा लगातार दोस्रो जित निकालेको हो।

    नेपालले दिएको १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो। कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक ३१ रनको पारी खेल्दा मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन जोडिन्।

    कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सीता राना मगरले दुई विकेट निकाल्दा अश्मिना कर्माचार्य, संगीता राई र इन्दु बर्माले समान एक विकेट लिए।

    जितसँगै नेपालले दुई खेलबाट ४ अंक जोडेको छ। समूह ‘बी’मा रहेको नेपाल तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ। पराजित कुवेतको तालिकामा १ अंक छ।

    यसअघि च्याम्पियनसीपको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले पराजित गर्दै विजयी सुरुआत गरको थियो। उता कुवेतले भने वर्षाका कारण बहराइनसँग अंक बाँडेको थियो।

    च्याम्पियनसीपअन्तर्गत नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ। १० टोलीले सहभागिता जनाएको प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजिन गरिएको छ।

    समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् भने फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन्।

     

    प्रतिक्रिया
    थप समाचार