Online Nepal बिहिबार, बैशाख १३ २०८१

पतञ्जली-आईएमईबीच सम्झौता, १० हजार आउटलेटबाट नेपालमा पैसा पठाउन सकिने

पतञ्जली-आईएमईबीच सम्झौता, १० हजार आउटलेटबाट नेपालमा पैसा पठाउन सकिने


मध्यान्तर
  • बुधबार, भाद्र १५ २०७९

  • काठमाडौं । पतञ्जली आयुर्वेद र आइएमईबीच सम्झौता भएको छ।

    सम्झौताअनुसार भारतमा बसोबास गर्ने लाखौँ नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आवद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्नेछन्।
    सम्झौतापत्रमा पतञ्जली समूहद्वारा प्रवर्द्धित भरुवा सोलुसन प्रालिका तर्फबाट निर्देशक डा. ऋषि कुमार र आईएमई इन्डिया तर्फबाट प्रमुख कार्यकारी अधिकृत गौतम नैथानीले हस्ताक्षर गरेका छन्।

    हरितालिका तीजको अवसरमा आयोजित एक विशेष कार्यक्रमकावीच मंगलबार भारतको राजधानी नयाँ दिल्लीमा उक्त समझदारी पत्र आदानप्रदान भएको हो। समझदारी पत्र आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी रामदेवले यो साझेदारीले भारत–नेपालबीचमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई बलियो बनाउने र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उनीहरूको परिवारका सदस्य वा नातेदारहरूलाई पैसा पठाउनको लागि एक सुविधाजनक एवम् सहज माध्यम थपिएको बताए।

    आचार्य बालकृष्णले यो साझेदारी पतञ्जली समूह र यसको संस्था भरुवा सोलुसन प्रालिले प्रदान गर्ने वित्तीय सेवामा एउटा अर्को उपलब्धि थपिएकोमा प्रशन्नता व्यक्त गरे।

    ‘यो निर्बाध ग्राहक यात्राको लागि म आइएमई ग्रुपलाई धन्यवाद दिन चाहन्छु’, उनले भने। साझेदारी घोषणा गर्न पाउँदा खुसी लागेको बताउँदै आचार्य बालकृष्णले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले हाम्रो पतञ्जली केन्द्रहरूमार्फत नेपालमा रहँदै आएका आफ्ना परिवार, आफन्त र इष्टमित्रहरूलाई पैसा पठाउन सक्ने बताए।

    उनले नेपालका पतञ्जली केन्द्रहरूबाट पनि रेमिटेन्स सेवा प्राप्त गर्न सकिने बताए। बैंकको शाखा भ्रमणको बोझ एवम् लामो आवेदन फारम भर्ने तनाव वा कुनै औपचारिकता पूरा नगरी यस्तो सेवा लिन सकिने आचार्य बालकृष्णले बताए।

    कार्यक्रममा राजदूत डा.शंकर शर्मा, पतञ्जली आयुर्वेद, पतञ्जली समूहद्वारा प्रवर्द्धित भरुवा सोलुसन प्रालिका उच्चपदस्थ कर्मचारीहरू आईएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, आईएमई लिमिटेडका प्रमुख कार्याकारी अधिकृत खिलेन्द्र पौडेल, आईएमई लिमिटेडका निर्देशक सचिन ढकाल, आईएमई इन्डियाका उच्चपदस्थ कर्मचारीहरूलगायत इन्डियामा बसोबास गर्दै आएका नेपाली समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति थियो।

    प्रतिक्रिया
    थप समाचार