Online Nepal शुक्रबार, चैत्र १६ २०८०

प्रेम गीत–३’ नेपाली चलचित्र नै हो : संचार मन्त्रालय

प्रेम गीत–३’ नेपाली चलचित्र नै हो : संचार मन्त्रालय


मध्यान्तर
  • बिहिबार, असोज ६ २०७९

  • काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेम गीत–३’को हिन्दी भर्सन पनि नेपाली चलचित्र नै भएको बताएको छ । बिहीबार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई बोलाएर गरेको छलफलमा मन्त्रालयले ‘प्रेम गीत–३’ हिन्दी भाषामा स्वरांकन गर्दैमा नेपाली चलचित्रलाई हिन्दी भन्न नमिल्ने बताएको हो ।

    “नेपाली निर्माताले नेपालमा नेपाली भाषा, नेपाली कलाकार र नेपाली प्राविधिक लिएर बनाएको चलचित्र नेपाली नै हुन्छ,” सञ्चार मन्त्रालयका प्रवक्ता सेवन्तक पोखरेलले भने, “प्रेम गीत–३ को हिन्दी स्वरांकन गरिएको चलचित्र पनि नेपाली नै हो । यसलाई हिन्दी भन्न मिल्दैन ।”

    पोखरेलले ‘प्रेम गीत–३’को हिन्दी भर्सनले पनि नेपाली चलचित्र सरहनै सेवा सुविधा पाउने बताए । “के सुविधा कसरी पाउने हो त्यो मलाई सबै थाहा छैन । तर, नेपाली चलचित्रले जुन सुविधा पाउने हो त्यही नै यसले पनि पाउँछ,” उनले भने । अब यो चलचित्रले १५ प्रतिशत विकास शुल्क तिर्नु पर्ने छैन ।

    ‘प्रेम गीत–३’ निर्माण तथा वितरकले सञ्चार मन्त्रालयमा ‘प्रेम गीत–३’ हिन्दी भर्सनलाई विकास बोर्डले कसरी हिन्दी चलचित्र भनेको हो स्पष्ट पारिदिन भन्दै निवेदन दिएको थियो । उक्त निवेदन परेपछि मन्त्रालयले आज बोर्ड अध्यक्ष भुवन केसीलाई बोलाएको थियो ।बोर्डले हिजो ‘प्रेम गीत–३’ हिन्दी भर्सनलाई हिन्दी चलचित्र भन्दै सेन्सर पासका लागि सिफारिस गरेको थियो ।

    निर्माण पक्षले नेपाली चलचित्र सरहको सेवा सुविधा दिन माग गर्दै बोर्डमा निवदेन दिएपछि बोर्डले हिन्दीमा स्वरांकन भएको चलचित्र नेपाली हुन नसक्ने बताउँदै विदेशी चलचित्र सरह सेन्सरका लागि आउन आग्रह गरेको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार