Online Nepal बुधबार, बैशाख १२ २०८१

अमेरिकी निर्वाचनमा दुई नेपाली उम्मेदवार

अमेरिकी निर्वाचनमा दुई नेपाली उम्मेदवार


मध्यान्तर
  • बुधबार, कार्तिक ९ २०७९

  • काठमाडौं । अमेरिकाको आगामी नोभेम्बर ८ मा हुने जनरल एसेम्बलीको निर्वाचनमा नेपाली मूलका दुई जना प्रतिस्पर्धामा छन्।

    प्रतिस्पर्धा गर्नेमा मेरिल्याण्ड राज्यको डिष्ट्रिक ८ बाट मेरिल्याण्ड जनरल एसेम्बलीको लागि विधायक पदमा पुनः निर्वाचित हुनका लागि निर्वाचनमा होमिएका डाक्टर ह्यारी भण्डारी र न्यूयोर्क राज्यको डिष्ट्रिक १०३ बाट न्यूयोर्क स्टेट एसेम्वलीको लागि सहना श्रेष्ठ छन्। भण्डारी र श्रेष्ठले गत जुलाईमा भएको आन्तरिक पार्टी प्रतिस्पर्धा अर्थात प्राइमरी निर्वाचनमा विजयी भएर डेमोक्र्याट पार्टीको तर्फबाट आधिकारिक उमेदवार बनेका छन्। सहनाले त २३ वर्षदेखि सोही पार्टीका बहालवाला डेलिगेटलाई हराएर प्राइमेरी निर्वाचनमा जीत हासिल गरेर एउटा अलग्गै इतिहास रच्न सफल भएकी छन्।

    सन् २००१ मा अध्ययनको लागि अमेरिका आएकी सहनाको राजनीतिक यात्रा रोचक छ। उनले सन् २०१९ मा मात्र अमेरिकाको नागरिकता लिएकी हुन्। सन् २०२१ मा उम्मेदवारी दिएर २०२२ को जुनमा प्राइमेरी निर्वाचनमार्फत जीत हासिल गरेसँगै उनी डेमोक्र्याट पार्टीको तर्फबाट आगामी नोभेम्बर ८ तारिखको लागि निर्वाचनमा होमिएकी छन्। भण्डारी अमेरिकाको मूलधारको राजनीतिमा निर्वाचित हुने पहिलो नेपाली अमेरिकी हुन्।उनले सन् २०१८ मा भएको निर्वाचनमा डेमोक्र्याट पार्टीको तर्फबाट निर्वाचित भएर एउटा अलग्गै इतिहास बनाएका हुन्। भण्डारी मेरिल्याण्डको जनरल एसेम्बलीमा आफ्नो चार वर्षे कार्यकालको अनुभवसहित निर्वाचनमा बहालवाला सांसदको हैसियतले चुनावी मैदानमा छन्। सन् २०२० को जनगणनापश्चात गरिएको निर्वाचन क्षेत्र हेरफेरको कारणले चुनौती थपिएको उनको भनाइ छ।

    उनको निर्वाचन क्षेत्र पर्पल डिष्ट्रिक अर्थात डेमोक्र्याट र रिपब्लिकन पार्टी दुबैले जीत हासिल गर्न सक्ने सचेत मतदाताको बाहुल्यता भएको क्षेत्र हो। यसले गर्दा मतदाताले उम्मेदवारको कार्ययोजना र कार्यशैलीलाई हेरेर मतदान गर्नेछन्। भण्डारी आफ्नो निर्वाचन क्षेत्रमा आफनो कार्ययोजनासहितका विवरण र विगतमा आफूले गरेको कामको फेहरिस्त लिएर मतदाताको घरदैलामा पुगेका छन्। उनले सन् २०१८ मा व्यक्त गरेको प्रतिवद्धताअनुसार स्थानीय विद्यालयमा विद्यार्थीको चाप बढी भएको नागरिकको गुनासोलाई सम्बोधन गर्दै आफनो क्षेत्रमा थप तीन विद्यालय स्थापना गरेका थिए। यसले उनको लागि सकारात्मक वातावरण निर्माण भएको छ। उनको क्षेत्र ३ जनाले प्रतिनिधित्व गर्छन्। भण्डारी भन्छन्( मैंल मेरो क्षेत्रका मतदातासँग गरेको प्रतिवद्धताअनुसार शिक्षा क्षेत्रमा पर्याप्त बजेट ल्याउन सफल भएको छु। करिब चार करोड ७० लाख डलर रकम बराबरका विद्यालयहरु मेरो क्षेत्रमा निर्माणाधीन रहेका छन्।

    मेरिल्याण्ड राज्यको जनरल एसेम्बलीमा हेल्थ एण्ड सरकार सञ्चालन कमिटिमा बसेर काम गरेका भण्डारी आफनो चार वर्षे कार्यकालको अनुभवले धेरै कुरा सिकाएको बताउँछन्। ‘एउटा सार्वजनिक पदधारण गरेको नाताले र निर्वाचित जनप्रतिनिधि भएको नाताले हेल्थ केयरका कतिपय विषयमा हामी मिलेर धेरै काम गर्‍यौं। यसले मेरिल्याण्ड राज्यलाई महामारी व्यवस्थापनमा अब्बल सावित गराउन सफल पनि भयो। महामारीको बेलामा गभर्नरको कार्यालय र हाउस मिलेर नागरिकका समस्या सम्बोधन गर्न र महामारीको समयमा धेरै काम गर्‍यौं,’ उनले भने।

    नेपाली समुदायका लागि पनि धेरै काम गर्न सकेको उल्लेख गर्दै उनले भने- कोरोनाको महामारीको बेलामा कतिपय स्थानमा मृत्युवरण गरेका नेपालीको अन्तिम संस्कार गर्नको लागि म उपस्थित भएको थिएँ।

    दिवंगत नेपालीको शव व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गरेका भण्डारीले कोरोना महामारीको बीचमा एक हजार पाँच सय नेपालीको बेरोजगार फर्म भर्नसमेत कार्यालयमार्फत काम गरेका थिए। भण्डारी अझै पनि नेपाली समुदाय अमेरिकामा देखिने र सुनिने समुदायको रूपमा नआएकाले राजनीतिक सामाजिक एकीकरणको पक्षमा आफूले समन्वय गर्न सकेको बताउँछन्।

    भण्डारीले नेपाली अमेरिकीको सहभागितामा सञ्चालित दुई सामुदायिक भवनको पुर्नसंरचना गर्न र सर्भिसेज रुमहरूको निर्माणको लागि भनेर पाँच लाख ५० हजार डलर बराबरको रकम लेजिष्लेटिभ वण्डमार्फत राज्य सरकारको कोषबाट रकम उपलब्ध गराएका छन्। भण्डारी सन् २००८ मा तत्कालीन राष्ट्रपतिका उम्मेदवार बाराक ओबामाको चुनावी अभियानमा स्वयंसेवक बनेका थिए।

    मेरिल्याण्ड राज्यको शिक्षा क्षेत्रमा कार्यरत रहेका भण्डारी अपरान्ह ३ बजेसम्म कक्षा कोठामा नै विद्यार्थीलाई अध्यापन गराउने गर्छन्। उनी भन्छन्,‘मैले आफनो पेशालाई पनि निरन्तरता दिइरहेको छु र चुनावी अभियान पनि टिममार्फत व्यवस्थित तरिकाले सञ्चालन गरिरहेको छु।’

    उता सहना श्रेष्ठले न्यूयोर्कको १०३ नम्बरको डिष्ट्रिकमा डेमोक्र्याट पार्टीको विगत दुई दशकदेखि प्रतिनिधित्व गर्दे आएका वहालवाला सांसदलाई प्राइमेरी निर्वाचनमा पराजय गरेकी छन्। उनको पहिलो पटकको राजनीतिक यात्राले नै नयाँ उचाइ हासिल गर्न सकेको छ। पर्यावरणको क्षेत्रमा काम गर्ने श्रेष्ठले आफनो चुनावी अभियानमा कुनै पनि कर्पोरेट कम्पनीबाट चन्दा नलिने उदघोष गरेकी छन्। उनी ऊर्जाको दर कम र शतप्रतिशत नवीकरणीय ऊर्जा भन्ने नाराका साथ चुनावी अभियानमा होमिएकी छन्। यी नारा तय गर्नुमा आफनो स्थानीय नागरिकको समस्या सम्बोधन गरेको उनी बताउँछिन्। उनी भन्छिन्( यो न्यूयोर्कको सेन्ट्रल हडसन क्षेत्रका नागरिकले चर्को दरको विद्युत् उपयोग गर्नु परेको छ। यसलाई मैले मुख्य मुद्दा बनाएको छु। मेरो सोच भनेको विद्युत् सेवाप्रदायकहरु निजी क्षेत्रबाट सरकारी क्षेत्रमा लानुपर्छ भन्ने हो। यसको लागि कतिपय कानुन बनाउनु पर्ने हुन्छ, यसमा सामूहिक सहकार्यबाट मात्र सम्भव रहन्छ।

    उनको चुनावी अभियानमा युनिभर्सल हेल्थ केयर जसमा मानसिक स्वास्थ्य, दीर्घकालीन हेरविचार र प्रजनन हेरचाहलगायतका विषय समावेश गरिएको छ। उनलाई अमेरिकाको राजनीतिमा प्रगतिशील एजेण्डाका साथ उदाएकी कंग्रेस सदस्य अलेक्ज्याड्रिय कोर्टेजले सहयोग गरेकी छन्। उनीलगायत न्यूयोर्क राज्यका चार एसेम्बली सदस्य र दुई स्टेट सिनेटरले पनि श्रेष्ठलाई समर्थन गरेकाले उनको विजयलाई बल पुर्‍याएको छ।

    सन् २००१ मा कम्युटर ग्राफिक्स अध्ययन गर्न अमेरिका आएकी सहनाले २०१९ मा अमेरिकाको नागरिकता लिएकी हुन्। सहना भन्छिन्, ‘मैले उमेदवार हुने सोच बनाएको एक वर्ष भयो। यहाँको समुदायले गरेको सहयोगको कारण मैले प्राइमरी निर्वाचनमा सफलता हासिल गर्न सकेको हुँ।’

    उनी श्रीमानसँग न्यूयोर्कको हडसन भ्यालीमा बस्दै आएकी छन्। उनी उल्सटर काउन्टीको मिड हडसन भ्याली च्याप्टरको डेमोक्रयाटिक सोसलिष्टस अफ अमेरिको सहअध्यक्ष समेत हुन्। ‘यसले नै मलाई राजनीतिक यात्रामा योगदान दिएको हो,’उनले भनिन्।

    यसपटकको निर्वाचनमा दुई जना मात्र निर्वाचनको मैदानमा भए पनि विगत वर्षमा अनेकन राज्यमा नेपालीले उम्मेदवारी दिँदै आएका छन्। तर अहिलेसम्म सङ्घीय सरकारमा प्रतिनिधित्व गर्ने गरी कसैले विजय हासिल गर्न भने सकेका छैनन्। यसरी अमेरिकाको राजनीतिमा होमिनेहरू दर्शन रौनियारले सन् २०१२ मा वासिङ्गटन स्टेटको कंग्रेसनल डिष्ट्रिक १ बाट निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए तर उनी प्राइमेरी निर्वाचन मा नै पराजय भए।

     

     

    प्रतिक्रिया
    थप समाचार