Online Nepal शनिबार, जेष्ठ ५ २०८१

एनिमल नेपालको अभियानः अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याण

एनिमल नेपालको अभियानः अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याण


मध्यान्तर
  • मंगलबार, जेष्ठ २८ २०७६

  • ललितपुर । पशु कल्याणको क्षेत्रमा क्रियाशिल एनिमल नेपालले अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याणका निमित्त पहिलो पटक अभियान शुरुवात गरेको छ ।

    अण्डा उत्पादन गर्ने कुकुराहरुको कल्याणका निमित्त अभियान पहिलो चरणमा काठमाडौं र चितवन जिल्लामा शुरु गरिएको संस्थाका अध्यक्ष प्रमदा शाहले बताइन् । उनले भनिन्– ‘हामीले यस अभियानलाई सार्थक बनाउन अण्डा उत्पादक (कुखुरा पालन व्यवसायी), उपभोक्ताबीच अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याणबारे जनचेतना फैलाउन छलफल तथा अन्र्तक्रिया गर्ने आमसञ्चार माध्यम, होर्डिङ्ग बोर्ड मार्फत अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याणबारे प्रचारप्रसार गर्ने लगायतका कार्यक्रम तय गरेका छौं ।’

    अण्डा उत्पादनका लागि कुखुरा पालन व्यवसायमा विद्यमान व्यवहारिक परिस्थितिमा निश्चित परिवर्तनको खाँचो रहेको भन्दै एनिमल नेपालका कार्यकारी प्रमुख हरि जोशीले उपभोक्ताको हित अनुकुल अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याणमा समेत ध्यान दिनुपर्ने आवश्यकता देखिएको हुँदा अभियान संचालन गरिएको बताए ।

    मानव जातिलाई जस्तै कुखुराहरुका लागि पनि प्राकृतिक रुपमा स्वतन्त्रता चाहिन्छ । उनीहरुलाई पनि दुख पीडा, डर त्रास,तनाब र थकानको महशुस हुन्छ । सानो खोर र अव्यवस्थित कुखुरा पालनबाट अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याण हुन सक्दैन । पिजडामा जस्तो गरी पालिएका कुखुराहरुको अवस्था कल्याणकारी हुदैन । सिमित ठाँउ जहाँ साँघुरो र अटसमटस गरी कुखुरा पालन गरिएको छ, त्यहाँ पीडादायी र कष्टकर जीवनको झल्को दिन्छ । जसबाट उनीहरुको स्वास्थ्यमा प्रतिकूल असर पार्ने, तन्दुरुस्त नहुने, कमजोर भएपछि रोगको संक्रमण बढ्न सक्नेलगायतका खतराहरु स्वयम् कुखुरा पालकले व्यहोनुपर्ने हुन्छ । यो नोक्सानी व्यवसायीलाई समेत पर्ने देखिन्छ भने उपभोक्तालाई पनि स्वास्थ्यमा प्रतिकूल असर पर्ने निश्चित छ । त्यसैले आम उपभोक्ता र अण्डा उत्पादक व्यवसायीहरुलाई जनचेतना फैलाई हितअनुकुल वातावरणको सहज निर्माणमा यो अभियानले सार्थक रुप लिने विश्वास लिइएको छ ।

    नेपालमा अण्डा उत्पादन गर्ने कुखुराहरुको पालनमा संकुचित तवरले खोरमा कुखुरा राख्ने, अर्गानिक दाना, स्वच्छ पानी र खुला बासस्थान व्यवस्थापनको अभाव देखिएको छ भने खुला तवरले खोरमा हिडडुल गर्न वा खेल्न मिल्ने खालको खोर निर्माण, अर्गानिक दाना, स्वच्छ पानी, खुला एवम् सुदृढ बासस्थानको व्यवस्थापन तथा निरोगी र स्वस्थ कुखुराको परीक्षणको खाँचो रहेको छ ।

    अभियानको राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्ण प्रसाद ओलीले हालै एक औपचारिक समारोहकाबीच शुभारम्भ गरेका थिए ।  यसअघि पनि एनिमल नेपालले नेपालमै पहिलो पटक सामुदायिक कुकुरहरुको व्यवस्थापनका लागि मानविय तवरले बन्ध्याकरण कार्यक्रम संचालन गरेको थियो ।

    प्रतिक्रिया
    थप समाचार