Online Nepal बिहिबार, बैशाख १३ २०८१

खानेपानी, ढल र विद्युतको काम गर्दा हाम्रो सेवा अवरुद्ध भयो : टेलिकम

खानेपानी, ढल र विद्युतको काम गर्दा हाम्रो सेवा अवरुद्ध भयो : टेलिकम


मध्यान्तर
  • शुक्रबार, फाल्गुन १९ २०७९

  • काठमाडौं । नेपाल टेलिकमले सडक, खानेपानी, ढल, विद्युत, लगायत अन्य विभिन्न जनसरोकारका पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडाले गर्ने केबल व्यवस्थापनका कामले आफ्नो सेवा अवरुद्ध भएको जनाएको छ।

    टेलिकमले अन्डरग्राउन्ड केबल, एरियल केबल, फाइबर लगायतका संरचनासँग विभिन्न उपकरणहरू आबद्ध गरी सेवा सञ्चालन गरिरहेको तर, सडक, खानेपानी, ढल, विद्युतलगायतका काम गर्दा यी संरचनामा क्षति पुगेर सेवा अवरुद्ध भएको जनाएको छ।

    ‘हजारौं ग्राहकहरू वर्तमान समयमा अत्यावश्यक भइसकेका दूरसञ्चार सेवाहरू प्राप्त गर्नबाट तत्काल वञ्चित हुनुपर्ने अवस्था आउने गरेको छ’, टेलिकमले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    काठमाडौं उपत्यकाका ठमेल, ताहाचल, ज्याठा, कमलादी, कपन, गोंगबु, हात्तिगौंडा, खुशिबु, तीनकुने ९सुविधानगर०, लुभु, कीर्तिपुर लगायत विभिन्न स्थानमा पछिल्ला केही दिनमा कम्पनीको भूमिगत तथा पोलमा रहेका संरचनामा क्षति पुगेर केही अवधिका लागि सेवा अवरुद्ध भएको टेलिकमले जनाएको छ।

    यो अवस्थालाई मध्यनजर गरी संरचना निर्माण वा विस्तारको क्रममा सम्बन्धित निकायहरूबीच समन्वय र सहकार्य हुनुपर्ने टेलिकमले बताएको छ। ‘कम्पनी सबै निकायसँग समन्वय र सहकार्यका लागि सदैव तत्पर छ। दूरसञ्चार अत्यावश्यक र संवेदनशील सेवा समेत भएकोले सबै सम्बन्धित पक्ष तथा आम सर्वसाधारणमा निरन्तर सेवा प्रवाहमा साथ दिनुहुन हार्दिक अनुरोध गर्दछ’, टेलिकमले भनेको छ।

    संरचनामा क्षति पुगी सेवा सञ्चालनमा समस्या आउँदा सेवा निरन्तरताका लागि तत्काल मर्मत गर्ने गरिएको टेलिकमको दाबी छ।

     

    प्रतिक्रिया
    थप समाचार