Online Nepal शुक्रबार, बैशाख २८ २०८१

जबालिया शरणार्थी शिविरमा इसराइलको दोस्रो हवाई आक्रमण

जबालिया शरणार्थी शिविरमा इसराइलको दोस्रो हवाई आक्रमण


मध्यान्तर
  • बिहिबार, कार्तिक १६ २०८०

  • काठमाडौँ । इसराइलले गजाको जबालिया शरणार्थी शिविरमा फेरि आक्रमण गरेको छ।

    इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले गजापट्टीको जबालिया शरणार्थी शिवरमा बुधबार पनि आक्रमण गरेको हो।

    आइडिएफले पनि जबालियामा दोस्रोपटक आक्रमण गरिएको पुष्टि गरेको छ। उसले दोस्रो आक्रमणा हमासको एन्टी-ट्यांक मिसाइल युनिटका प्रमुख मुहम्मद एसार मारिएको दाबी गरेको छ।

    हमासले इसराइलको दोस्रो आक्रमणबाट १९५ जना भन्दा बढी प्यालेस्टाइनी नागरिक मारिएको दाबी गरेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

    नागरिकहरूको घना आवादी भएको जबालिया शरणार्थी शिविरमा मंगलबार पनि इसराइलले हवाई आक्रमण गरेको थियो। उसले त्यहाँ हमासका जबालिया कमान्डर इब्राहिम बियारी मारिएको दाबी गरेको थियो।

    मंगलबारको आक्रमणबाट पनि दर्जनौं नागरिकहरूको मृत्यु तथा सयौं घाइते भएका थिए। त्यहाँ रहेका घरमा बसेर हमासले इसराइलविरूद्ध रणनीति बनाएको आइडिएफको दाबी छ।

    हमासले भने इसराइलको उक्त दाबी अस्वीकार गर्दै आइरहेको छ। उसले प्यालेस्टाइनी नागरिकहरूको हत्या गरी इसराइलले मानवताविरूद्धको अपराध गरेको आरोप लगाएको छ।

    इसराइलले जबालियामा दोस्रो पटक हवाई आक्रमण गरेको विषयमा अर्जेन्टिनाले भर्त्सना गरेको छ। त्यस्तै संयुक्त राष्ट्रसंघले पनि यसलाई युद्ध अपराधको संज्ञा दिएको छ।

    बोलिभियाले मंगलबार नै इसराइलसँगको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरिसकेको छ।

    अक्टोबर ७ यता इसराइलको आक्रमणबाट साढे ८ हजार भन्दा बढी प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार