Online Nepal आइतबार, जेष्ठ ६ २०८१

तीन मोडेलमा सार्वजनिक भयो ‘सामसङ एस २४ सिरिज’, एन्ड्रोइड २१ सम्मको अपडेट पाउने

तीन मोडेलमा सार्वजनिक भयो ‘सामसङ एस २४ सिरिज’, एन्ड्रोइड २१ सम्मको अपडेट पाउने


मध्यान्तर
  • शुक्रबार, माघ ५ २०८०

  • काठमाडौं । सामसङ ग्यालेक्सी एस २४ सिरिज सार्वजनिक भएको छ । बुधवार भएको सामसङ अनप्याक्ड इभेन्टमा कम्पनीले बहुप्रतिक्षित एस२४ सिरिज सार्वजनिक गरेको हो ।

    यस सिरिज अन्तर्गत कम्पनीले टप भेरियन्टका रूपमा ग्यालेक्सी एस२४ अल्ट्रा, मिड भेरियन्टमा एस २४ प्लस र बेस भरियन्टमा एस२४ सार्वजनिक गरेको छ ।

    कम्पनीका अनुसार यो सिरिजले सात पुस्तासम्मको ओएस अपग्रेड र सात वर्षसम्म सेक्युरिटी अपडेट पाउनेछ । अर्थात् एस२४ सिरिज खरिद गर्ने प्रयोगकर्ताले एन्ड्रोइड २१ सम्म अपडेट गर्न सक्नेछ ।

    पछिल्लो समय स्मार्टफोन निर्माता कम्पनी एप्पल, गुगल र ह्वावेका टप भेरियन्ट स्मार्टफोन बजारमा आइसकेका छन् । यी टप भेरियन्टसँग प्रतिस्पर्धा गर्न सामसङले कस्ता फिचर भएको नयाँ सिरिज सार्वजनिक गर्छ भन्ने धेरैको उत्साह थियो । त्यसैले पनि सामसङ अनप्याक्ड इभेन्टमा मानिसहरूको विशेष आकर्षण थियो ।

    एस२४ सिरिजमा कम्पनीले विभिन्न एआई फिचर समावेश गरेको छ । यो सिरिज खरिद गर्ने प्रयोगकर्ताले सामसङका नयाँ एआई फिचर जस्तैस लाइभ ट्रान्सलेट, इन्टरप्रेटर, च्याट असिस्ट, एन्ड्रोइड अटो, नोट असिस्ट, ट्रान्सक्रिप्ट असिस्ट, सर्कल टु सर्च लगायतका फिचरमा पहुँच पाउनेछन् ।

    सामसङ एस२४ सिरिजमा कम्पनीले ‘प्रो भिजुअल इन्जिन’ समावेश गरेको छ । एआईद्वारा सञ्चालित प्रो भिजुअल इन्जिनले प्रयोगकर्ताले चाहे अनुसार फोटोलाई स्तरीय बनाउने कम्पनीले जनाएको छ ।

    कम्पनीले एस २४ सिरिजको टप भेरियन्ट ग्यालेक्सी एस २४ अल्ट्रामा चार ओटा क्यामेरा समावेश गरेको छ । त्यसमा पाँच गुणासम्मको अप्टिकल जुम लेन्स दिइएको छ ।

    त्यस्तै यो सिरिजलाई कम्पनीले नाइटोग्राफी फोनका रूपमा अपग्रेड गरेको छ । यसको सहायताले प्रयोगकर्ताले जस्तोसुकै लाइट भएको अवस्थामा पनि जुम गरेर स्तरीय फोटो तथा भिडिओ खिच्न सक्ने कम्पनीको दाबी छ ।

    कम्पनीले एस२४ अल्ट्रामा अहिलेसम्मकै शक्तिशाली चिपसेट स्न्यापड्रागन ८ जेन थ्री समावेश गरेको छ । त्यस्तै गेमिङका लागि कम्पनीले हार्डवेयर तथा सफ्टवेयरमा सुधार गरेको जनाएको छ ।

    एस२४ अल्ट्रामा गेम खेल्ने प्रयोगकर्ताका लागि त्यसमा अप्टिमल थर्मल कन्ट्रोल सिस्टम समावेश गरिएको छ । भ्यापर च्याम्बरको तुलनामा यो सिस्टम १.९ गुणा ठूलो भए‍को कम्पनीको भनाइ छ ।

    एस२४ अल्ट्रामा ६.८ इन्च फ्ल्याट डिस्प्ले, एस २४ प्लसमा ६.७ इन्च र एस२४ मा ६.२ इन्चको डिस्पले दिइएको छ । कम्पनीका अनुसार एस २४ अल्ट्रामा भएको जत्तिकै ग्यालेक्सी एस२४ प्लसले पनि क्यूएचडी प्लस सपोर्ट गर्छ ।

    टप भेरियन्ट सामसङ एस२४ अल्ट्रामा कम्पनीले फ्ल्याट स्क्रिन उपलब्ध गराएको छ । कर्भ्ड डिस्प्लेको लोकप्रियता बढ्दै गइरहेको बेला सामसङले भने आफ्नो टप भेरियन्टमा फ्ल्याट डिस्प्ले उपलब्ध गराएको छ ।

    एप्पलको आईफोन १५ जस्तै यो सिरिजको फोन टाइटानियम धातुले बनेको छ । विशेषगरी टिकाउ र हलुका हुने भएकाले स्मार्टफोनमा टाइटानियम धातुको प्रयोग बढ्दै गएको छ ।

    तीन गुणा जुम क्षमता भएको यी सिरिजका फोनमा चार ओटा क्यामेरा दिइएको छ । त्यसमध्ये एस २४ अल्ट्रामा २०० मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ भने एस २४ र एस २४ प्लसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ ।

    एस२४ को सुरुवाती मूल्य ७९९ डलर, एस२४ प्लसको ९९९.९९ डलर र एस२४ अल्ट्राको १२९९ डलर तोकिएको छ ।

    कम्पनीका अनुसार यो सिरिज २५ जनवरीपछि बजारमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार