Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नयाँ अर्थमन्त्री नियुक्तिपछिको पहिलो कारोबार दिन शेयर बजार सकारात्मक

नयाँ अर्थमन्त्री नियुक्तिपछिको पहिलो कारोबार दिन शेयर बजार सकारात्मक


मध्यान्तर
  • बिहिबार, फाल्गुन २४ २०८०

  • काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले शेयर बजारलाई मजबुत बनाउने आश्वासन दिएपछि नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) सूचक १३.५१ अंकले बढेको छ। विभागीय अर्थमन्त्री पुनको दोस्रो कार्यकालको पहिलो कार्यदिनमै नेप्से दोहोरो अंकले बढेर २०३०.५५ अंकमा पुगेको हो।

    नयाँ सत्ता गठबन्धन बनेसँगै पुनले हिजो (बुधबार) पदबहाली गरेका थिए। उनले लगानीकर्ताको हितमा मनोबल बढाउनेगरी काम गर्ने र शेयरबारे पहिलेको जस्तो नभई परिवर्तनशील भएर हेरिने बताएका थिए।

    यसअघि सत्ता गठबन्धन परिवर्तन हुने र नेकपा (एमाले)का तर्फबाट विष्णुप्रसाद पौडेल अर्थमन्त्री हुने हल्ला चलेपछि सोमबार नेप्से दुईपटक सर्किट ब्रेक लाग्दै ९८.६९ अंकले बढेको थियो। मंगलबार भने अर्थ मन्त्रालय नेकपा (माओवादी केन्द्र)को भागमा पर्ने र वर्षमान पुन अर्थमन्त्री बन्ने निश्चित भएपछि ७०.७१ अंकको पहिरो चलेको थियो। बुधबार भने ९.३३ अंकको झिनो सुधार देखिएको थियो।

    २०७८ भदौ १८ गते पुन पहिलोपटक अर्थमन्त्री हुँदा शेयर बजार केही सकारात्मक भए पनि पार्टीकै नेता जनार्दन शर्माका पालामा लगानीकर्ता हतोत्साही भएका थिए। पुनले शेयरबजारले ‘माओवादी अर्थमन्त्री नरुचाउने’ भाष्य तोड्न पुनले पूँजीबजारमाा देखिएका समस्यालाई संरचनागत तथा नीतिगत रूपले हेरिने बताएका थिए।

    शेयरबजारप्रति पुनको पछिल्लो रूझान सकारात्मक देखिएपछि बिहीबार शेयरबजार ०.६७ प्रतिशतले बढेको हो। ८९ लाख २९ हजार १५२ कित्ता शेयर ३ अर्ब १९ करोड ९२ लाख ५ हजार ८२०.३५ रुपैयाँमा कारोबार भएको छ।

    साताको कारोबारको अन्तिम दिन आज १७६ कम्पनीका शेयरधनी नाफामा छन्‌। ५९ कम्पनीका शेयरधनीलाई घाटा लागेको छ भने ११ कम्पनीको शेयरमूल्य स्थिर छ।

    आज पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३१.८० रुपैयाँ बढेको छ। एनआइसी एसिया ग्रोथ फण्ड-२ का लगानीकर्ताले सर्वाधिक ६.२१ प्रतिशत गुमाएका छन्‌।

    नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ५ करोड ६२ लाख रुपैयाँ बराबरको प्रोमोटर सेयर कारोबार नेप्सेमा भएको कारोबारमध्ये सर्वाधिक हो।

    प्रतिक्रिया
    थप समाचार