Online Nepal शनिबार, जेष्ठ ५ २०८१

नेपालमा पहिलो पटक प्याराग्लाइडिङ विश्वकप

नेपालमा पहिलो पटक प्याराग्लाइडिङ विश्वकप


मध्यान्तर
  • शुक्रबार, कार्तिक १६ २०७५

  • स्याङ्जा । स्याङ्जाको भीरकोमा प्याराग्लाइडिङ विश्वकप सुरु भएको छ । शुक्रबार सुरु भएको यो प्रतिष्पर्धा चार दिन चल्ने छ । नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था तथा बाबु एड्भेन्चर क्लब स्याङ्जाको आयोजनामा भएको यो विश्वकप नेपालकै पहिलो हो ।

    विश्वकपबाट नेपाल भ्रमण वर्ष २०२० मा हवाई साहसिक पर्यटकको संख्या वृद्धि गर्ने र हवाई खेललाई विश्वमै परिचित गराउने अपेक्षा गरिएको छ । प्रतिष्पर्धामा स्वरेक मैदानबाट टेक अफ गरेका खेलाडीहरु डौवाफाँटमा पुगेर अवतरण गर्नु पर्ने छ । पुरुष र महिला एकल तथा समुह गरी ४ विधामा विश्वकप प्रतिष्पर्धा गराइने छ ।

    विश्वकपमा नेपाल सहित क्यानडा, चीन, हंगेरी, ईप्जिप्ट, भारत, ईन्डोनेसिया, दक्षिण कोरिया, उत्तर कोरिया, पाकिस्तान, साउदी अरेबिया, सिंगापुर, थइल्याण्ड, अमेरिका, युएई, फ्रान्स, टर्की, बेलायत, जापान, मलेसिया, मंगोलिया, इरान गरी ३० देशका एक सय ५० खेलाडी सहभागी भएको एड्भेन्चर क्लबका अध्यक्ष कृष्ण जंग केसीले बताए । केसीका अनुसार प्रतियोगिताका लागि बिहीबार साँझसम्म २१ देशका ९८ जना खेलाडीले नाम दर्ता गराइसकेका थिए ।

    विश्वकपको लागि प्रमुख निर्णायक बेलग्रेडका एफएआईका प्रमुख जोनाडिक उल्गेसा, निर्णायकको रुपमा ईन्डोनोसियाका माकुर एफान्डी र मीट डाइरेक्टरमा ईन्डोनेसीयाकै टोनी सुसान्टो आईसकेका छन् ।

    खेल प्राविधिक सानुबाबु सुनुवारका अनुसार प्रतियोगिता ६ राउण्डको हुने छ । साथै आफ्नो राउण्डमाा तोकिएको घेराभित्र ‘ल्याण्ड’ गर्दै कम अंक ल्याउने उत्कृष्ट हुने छन् ।

    प्रतियोगितामा एकल प्रतिस्पर्धामा प्रथम हुनेले एक हजार यूरो, द्धितीयले ७ सय ५० यूरो र तृतियले ५ सय यूरोसहित पदक, मेडल सहित प्रमाणपत्र पाउने छन् । समूहगत प्रथम हुनेले एक हजार ५ सय, एक हजार २ सय द्धितिय र तृतियले ७ सय यूरो सहित मेडल, प्रमाणपत्र र पदक पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा एक करोड ७७ लाख ९० हजार रुपैयाँ आम्दानी गरी एक करोड ५७ लाख ७ हजार ८ सय खर्च हुने अनुमान आयोजक समितिले गरेको छ ।

    विश्वकपको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलका माध्यमद्धारा मुलुकलाई चिनाउनुपर्ने बताएका छन् । यसका लागि सात वटै प्रदेशमा खेलकुद रंगशाला संचालन गर्ने मन्त्री विश्वकर्माले बताए ।

    यस्तै उनले ७ सय ५३ वटै स्थानीय तहमा रंगशाला निर्माण गर्न आग्रह गर्दै त्यसको ७० प्रतिशत खर्च केन्द्रीय सरकारले ब्यहोर्ने प्रतिवद्धता व्यक्त गरे । भीरकोट नगरपालिका–५ मैदानमा सुरु भएको एक्युरेसी प्रथम नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगिताको बिहीबार उद्घाटन गर्देै मन्त्री विश्वकर्माले छोटो अवधिमा राम्रो प्रर्दशन गरेको प्याराग्लाईडिङका लागि भौतिक पूर्वाधार विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

    प्रतिक्रिया
    थप समाचार