Online Nepal शनिबार, जेष्ठ ५ २०८१
खेल

माल्दिभ्सले दोहोर्यायो इतिहास, साफ च्याम्पियनसिपमा भारत २-१ ले पराजित

माल्दिभ्सले दोहोर्यायो इतिहास, साफ च्याम्पियनसिपमा भारत २-१ ले पराजित


मध्यान्तर
  • शनिबार, भाद्र ३० २०७५

  • काठमाडौं : साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जितेर माल्दिभ्सले इतिहास दोहोर्याएको छ । साफको १२औं संस्करणको शनिबार भएको फाइनल खेलमा भारतलाई २-१ गोलले पराजित गर्दै माल्दिभ्सले दोस्रो पटक उपाधि जितेको हो। माल्दिभ्सले यसअघि सन् २००८ मा उपाधि जितेको थियो।

    प्रतिस्पर्धात्मक खेलमा भारतको यू(२३ टोलीलाई दबाबमा राख्दै माल्दिभ्सले उपाधि जितेको हो। माल्दिभ्सको जितमा इब्राहिम मधुधीले १९औं र अली फसिरले ६६औं मिनेटमा गोल गरे।

    भारतले इन्जुरी समयमा एक गोल फर्कायो। इन्जुरी समयको ९२औं मिनेटमा सुमित पासीले गोल गर्दै गोल अन्तर घटाएका थिए। सात पटक उपाधि जितिसकेको भारतले यस पटक यू-२३ टोली पठाएको थियो। अन्य राष्ट्रबाट भने सिनियर राष्ट्रिय टोली सहभागी भएका थिए।

    सेमिफाइनलमा नेपाललाई ३-० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको माल्दिभ्सले भारतीय युवा खेलाडीको कम अनुभवको फाइदा उठाउँदै उपाधि जित्न सफल भयो। भारतीय खेलाडीले टेक्निकल रुपमा उत्कृष्ट खेल पस्किए पनि कम अनुभवका कारण दबाबमा खेलेका थिए।

    दक्षिण एसियाली मुलुक (सार्क) राष्ट्रको फुटबल खेल विकास गर्ने उद्देश्यले सन् १९९३ मा सार्क गोल्डकपको नाममा (हालको साफ च्याम्पियनसिप) सुरु भएको हो। भारतले सात पटक उपाधि जित्दा माल्दिभ्सले दुई तथा बंगलादेश र श्रीलंकाले एकएक पटक उपाधि जितेका छन्।

    प्रतिक्रिया
    थप समाचार