Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट


मध्यान्तर
  • मंगलबार, भाद्र ८ २०७८

  • काठमाडौँ । आइतबार र सोमबार लगातारको दुईदिन सार्वजनिक बिदापछि आज खुलेको सेयर बजारमा उच्च अङ्कको गिरावट भएको छ । आज सेयर बजार परिसूचक नेप्से ५६.०३ अङ्कको गिरावट हुँदा ३१२४.८७८ अङ्कमा बन्द भएको छ ।

    जलविद्युत कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा नेप्सेमा उच्च अङ्कको गिरावट भएको हो । यस दिन नेप्सेमा वित्त कम्पनी र निर्जीवन बिमाबाहेक सबै उपसूचकमा गिरावट हुुँदा जलविद्युत् उपसूचक सर्वाधिक ६.२१ र विकास बैंक उपसूचक ३.९८ तथा लगानी उपसूचक ४.४३ प्रतिशतले गिरावट भएको छ ।

    यता, वित्त कम्पनी उपसूचक १.४७ प्रतिशत र निर्जीवन बिमा उपसूचक ०.७६ प्रतिशतले घटेको छ ।

    गत साता विद्युत् नियमन आयोगले जलविद्युत् कम्पनीको सेयर मूल्यमा अस्वाभाविक वृद्धि भएको भन्दै विज्ञप्ति जारी गरेको थियो । गत शुक्रबार नै अर्थमन्त्री जनार्दन शर्माले पनि प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा जलविद्युत् कम्पनीको सेयर मूल्य ठिक नभएको भन्दै मान्त्रालयले नै विद्युत् नियमन आयोगलाई विज्ञप्ति निकाल्न सुझाव दिएको बताएका थिए ।

    आज नेप्सेमा ४० वटा हाइड्रोपावर कम्पनीको सेयर कारोबारमा आएकोमा ३८ कम्पनीको सेयर मूल्य घटेको छ । १७ वटा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेर सर्किट लेभलमा बन्द भएको छ । त्यस्तै, धेरै सेयर मूल्य घट्ने ४० कम्पनीमा ३५ वटा हाइड्रपावर मात्रै रहँदा लगातार ३१ वटासम्म हाइड्रोपावर कम्पनी मात्रै रहेका छन् ।

    नेप्सेमा उच्च गिरावट हुँदा गत बिहीबारको तुलनामा कारोबार रकम केही घटे पनि १६ अर्बमाथिको कारोबार भएको छ । आज नेप्सेमा २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता सेयर खरिद(बिक्री हुँदा १६ अर्ब १२ करोड ४४ लाख ६८ हजारको कारोबार भएको छ ।

    आज नेप्सेमा सेयर मूल्यमा उच्च गिरावट भएको हाइड्रोपावर कम्पनी नै धेरै कारोबार हुनेमा अगाडि रहेका छन् । अरूण भ्याली हाइड्रोपावर कम्पनीको सवार्धिक ७५ करोड ४३ लाख ३४ हजारको कारोबार हुँदा अरूण कावेली पावरको ७१ करोड ९१ लाख ६२ हजार र नेशनल हाइड्रोपावरको ५८ करोड ५३ लाख ८६ हजारको कारोबार भएको छ ।

    आज नेप्सेमा कारोबारमा आएका १८६ कम्पनीमध्ये १४५ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ३३ कम्पनीको बढेको छ । त्यस्तै, ८ कम्पनीको सेयरमूल्य भने स्थिर रहयो ।

     

    प्रतिक्रिया
    थप समाचार