काठमाडौं । खेतीमा प्रयोग हुने युरिया रासायनिक मल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नेपाल भित्र्याउन सुरु गरेको छ।
अहिले देशैभर मलको हाहाकार भइरहेको समयमा साल्ट ट्रेडिङले जिम्मा पाएको मल नेपाल भित्रिन थालेको हो।
साल्ट ट्रेडिङका विभागीय प्रबन्धक ब्रजेश झाका अनुसार २५ सय मेट्रिक टन मल नेपाल भित्रिएको हो। केही दिनमै १९ हजार ५ सय मेट्रिक टन मल समेत आयात भइसक्ने उनले जानकारी दिए।
उनका अनुसार १९ हजार ५ सय मेट्रिक टन मल कलकत्तामा आइपुगेकोले केही दिनमा नै नेपाल आइपुग्नेछ।
नेपालमा आयात हुने रासायनिक मलको ३० प्रतिशत मल साल्ट ट्रेडिङमार्फत हुन्छ भने ७० प्रतिशत कृषि सामग्री कम्पनीमार्फत हुने गर्छ।
कृषि सामग्री कम्पनीले आयात गर्ने मल समयमा उपलब्ध नहुँदा नेपालको रोपाइँ समेत प्रभावित बनेको छ।