Online Nepal शनिबार, जेष्ठ ५ २०८१

उद्योग वाणिज्य महासंघमा प्रत्यक्ष निर्वाचन गर्न ९० प्रतिशत सदस्यको माग

उद्योग वाणिज्य महासंघमा प्रत्यक्ष निर्वाचन गर्न ९० प्रतिशत सदस्यको माग


मध्यान्तर संवाददाता
  • शुक्रबार, भाद्र ५ २०७७

  • काठमाडौं । कोरोना भाइरस(कोभिड–१९) कारण रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको प्रत्यक्ष निर्वाचन हुनुपर्ने अधिकांश सदस्यले माग गरेका छन् । देशभर रहेका भण्डै ९० प्रतिशत सदस्यले प्रत्यक्ष सहभागितामै निर्वाचन र साधारणसभा गर्न माग गरेका हुन् ।

    महासंघको निर्वाचनको मिति तोक्न गठन गरिएको कार्यदललाई देशैभरका सदस्यहरुले प्रत्यक्ष रुपमा निर्वाचन गराउन सुझाव दिएको बताइन्छ । कार्यदलका एक सदस्यका अनुसार कोभिड १९ को प्रभाव बढिरहेकाले भर्चुअल रुपमा निर्वाचन गर्ने विकल्पको खोजी भइरहेका बेला अधिकांश सदस्यले प्रत्यक्ष सहभागितामै निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन् । ६ सदस्यीय कार्यदलमा डीबी बस्नेत, अरुणराज सुमार्गी, विनोद ढकाल, सुनिलगोपाल श्रेष्ठ, भरत आचार्य र रञ्जित आचार्य छन् ।

    महासंघले निर्वाचन र साधारणसभा सम्पन्न गराउन त्यसको मोडालिटी तयार पार्ने जिम्मेवारीसहित गत साउन २१ गते एक कार्यदल गठन गरेको थियो । १५ दिनको म्याद पाएको कार्यदलले प्रतिवेदन लेखन कार्य अझै पूरा नभएको जनाएको छ । कार्यदलले पाएको म्याद हिजो बिहिबार सकिएको छ ।

    ‘भेटेका र सम्पर्क भएका अधिकांश सदस्यहरूको सुझावका आधारमा निर्वाचन तथा साधारणसभाबारे निष्कर्ष निकालिए पनि मिति तोक्ने विषयमा छलफल भइरहेको कार्यदलका एक सदस्यले जानकारी दिए ।

    ‘९० प्रतिशत सदस्यले प्रत्यक्ष निर्वाचन गरेर नै नयाँ प्रतिनिधिहरु छनोट गर्नुपर्ने र, लकडाउन हटेपछि निर्वाचन हुनुपर्ने माग गरेका छन्’, कार्यदलका ती सदस्यले भने, ‘त्यो सम्भव हुन नसकेको खण्डमा बरु अनलाइन प्रविधिबाट निर्वाचन गर्न सकिने माग अधिकांश सदस्यबाट आएको छ।’

    महासंघको विधानले अहिले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेअनुसार शेखर गोल्छा अध्यक्ष बन्दै छन् । वरिष्ठ उपाध्यक्षको लागि चन्द्र ढकाल र किशोर प्रधानले आआफ्नै प्यानल निर्माण गरेर उम्मेदवारी घोषणा गरी निर्वाचनको तयारी गरेका छन् ।

    प्रतिक्रिया
    थप समाचार