Online Nepal सोमबार, बैशाख ३१ २०८१

राष्ट्र बैंकको नीतिगत निर्णयः अन्तर एटिएम कारोबारमा शुल्क नलाग्ने

राष्ट्र बैंकको नीतिगत निर्णयः अन्तर एटिएम कारोबारमा शुल्क नलाग्ने


मध्यान्तर
  • आइतबार, भाद्र १४ २०७७

  • काठमाडौं । राष्ट्र बैंकले एउटा बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा कुनै शुल्क नलाग्ने नीतिग रुपमा निर्णय गरेको छ । केन्द्रिय बैंकले विद्युतीय भुक्तानी कार्ड सञ्चालनबारे नीतिगत सम्बोधन गर्दै अब अन्तर एटिएम कारोबारमा शुल्क नलाग्ने व्यवस्था गरेको हो ।

    विद्युतीय भुक्तानी कार्ड जारी गर्दा अपनाउनुपर्ने नीतिगत एवम् प्रक्रियागत व्यवस्था सम्बन्धी (ङ) नम्वरको बुँदामा भनिएको छ– ‘एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लिन पाइने छैन ।’

    बैंककहरुले कोरोनापछि जारी लकडाउनको अवधिमा जुनसुकै बैंकको कार्ड जुनसुकै एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेपनि लकडाउन अन्त्य भएसँगै साउन १ देखि केहीले पुनः शुल्क लिन थालेका थिए । यसअघि फरक नेटवर्कका नाममा बैंकले एकअर्काको कार्ड फरक एटिएममा प्रयोग गर्दा निश्चित शुल्क लिँदै आएका थिए ।

    कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अगावै सोको सूचना ग्राहकलाई एसएमएसमार्फत दिनुपर्ने र कार्ड नवीकरण शुल्कको बारेमा समेत जानकारी गराउनुपर्ने नीतिगत व्यवस्था गरिएको छ ।

    त्यस्तै सबै कार्ड चिपयुक्त हुनुपर्ने व्यवस्था गरिएको छ । एटिएम काउन्टरमा आवश्यक सहयोग चाहिएमा सम्बन्धित कर्मचारीको नाम र मोबाइल नम्बर तथा सम्बन्धित संस्थाको नाम, ठेगाना र टेलीफोन नम्बर ग्राहकले प्रष्टसँग देख्ने र बुझ्ने गरी नेपाली र अंग्रेजी भाषामा लेख्नुपर्ने व्यवस्था गरिएको छ ।

    दैनिक एटिएम कार्डबाट झिक्न पाइने रकमको सीमा सम्वन्धमा भने कुनै परिवर्तन गरिएको छैन । एक पटकमा २५ हजार र दैनिक १ लाख रुपैयाँसम्म पैसा झिक्न पाउने व्यवस्था यथावत राखिएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार