Online Nepal शनिबार, जेष्ठ ५ २०८१

‘गुलाबी शहर’ जयपुरमा सुरु भयो साहित्य कुम्भ

‘गुलाबी शहर’ जयपुरमा सुरु भयो साहित्य कुम्भ


मध्यान्तर
  • बिहिबार, माघ १० २०७५

  • काठमाडौं । साहित्यकारहरुको कुम्भ मेलाको नामले प्रचलित साहित्य मेला सुरु भएको छ । ‘गुलाबी शहर’ को रुपले परिचित भारतको राजस्थान स्थीत जयपुरमा बिहीबारदेखि साहित्यको कुम्भ मेला ‘जयपुर साहित्य उत्सव’ सुरु भएको हो ।

    यहाँ सन् २००६ बाट उत्सव हुन थालेको हो । जयपुर साहित्य उत्सव ‘द ग्रेटेस्ट लिटररी शो अन द अर्थ’ को रुपमा विकसित हुँदै गइरहेको छ । पहिलो संस्करणमा १८ जना साहित्यकारहरुको उपस्थिति रहेको यो साहित्य मेलामा अहिलेसम्म दुई हजार भन्दा बढी साहित्यकार वक्ताका रुपमा र झण्डै १० लाख साहित्यिक अनुरागी उपस्थित भैसकेका छन् ।

    यस पटकको जयपुर साहित्य उत्सवमा नोबेल, म्यान बुकर, पुलित्जर तथा साहित्य अकादमी पुरस्कार विजेता लेखकसहित ३० देशका ५०० भन्दा बढी साहित्यकार उपस्थित हुनेछन् ।

    बेलायती कवि तथा उपन्यासकार रुथ पडेल र नोबेल पुरस्कार विजेता वैज्ञानिक वेन्की रामाकृष्णनको कि नोट स्पीच९मूल मन्तव्य०सँगै जयपुर साहित्य उत्सव औपचारिक रुपमा सुरु भएको छ ।

    साहित्य उत्सव राजस्थानको राजधानी जयपुरको केन्द्रमा रहेको १५० वर्ष पुरानो होटेल डिग्गी प्यालेसमा बिहीबारदेखि ५ दिनसम्म चल्नेछ । वास्तुकलाले नै सजिएको ऐतिहासिक दरबारमा साहित्यिक हस्ती र साहित्य अनुरागीको उपस्थितिले यहाँको माहोल नै काव्यिक बनेको छ । बिहीबार मात्रै विभिन्न शीर्षकमा ३२ वटा सत्र चल्नेछन् ।

    यस पटकको जयपुर साहित्य उत्सव विज्ञानमा बढी केन्द्रित रहेको छ । नोबेल विजेता वेन्की रामाकृष्णनले आजको युगमा विज्ञानको महत्वका बारेमा उत्सवको मूल मन्तव्यमा आफ्ना विचारहरु व्यक्त गरेका थिए । त्यस्तै यस पटकको साहित्यिक उत्सवमा विज्ञान तथा प्रविधि र वर्तमान मानव समाजका बारेमा चर्चा परिचर्चा हुँदैछ ।

    यस पटकको साहित्य उत्सवमा नोबेल पुरस्कार विजेता वेंकटारमण रामाकृष्णनदेखि म्यान बुकर पुरस्कार विजेता बेन ओक्रीसम्मको सहभागिता रहेको छ । त्यस्तै चर्चित भारतीय लेखक तथा फिल्म निर्देशक गुल्जारको उपस्थितिले जयपुर साहित्य उत्सवलाई थप रोमाञ्चक बनाउनेछ ।

    यस पटक साहित्य उत्सवमा अमेरिकी लेखक कोल्सन ह्वाइटहेट, बेलायती इतिहासकार बेटानी ह्यूग्स, चर्चित उपन्यासकार जेफ्री आर्चर, चर्चित भारतीय राजनीतिज्ञ तथा लेखक शशि थरुर, प्याट्रिक फ्रेन्च, कार्लो पिज्जाटी, चर्चित भारतीय पत्रकार राजदीप सारदेसाई, अमिताभ कुमारलगायतका साहित्यकारहरुको उपस्थिति रहनेछ ।

    प्रतिक्रिया
    थप समाचार