Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

कोभिड–१९ विरुद्ध खोपका अभावमा नागरिक तड्पिनु पर्दैन : प्रधानमन्त्री

कोभिड–१९ विरुद्ध खोपका अभावमा नागरिक तड्पिनु पर्दैन : प्रधानमन्त्री


मध्यान्तर
  • आइतबार, असार २७ २०७८

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध लगाइने खोपका अभावमा नागरिक अब तड्पिनु नपर्ने स्पष्ट पारेका छन्।

    आइतबार वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अधिकतम प्रयास गरेर जनताको जीउज्यानको सुरक्षामा सरकार गम्भीरताका साथ लागिरहेकाले नियमितरुपमा खोप आइरहने विश्वास दिलाए।

    प्रधानमन्त्री ओलीले भने, ‘भ्याक्सिन उपलब्ध गराएका छौँ, भ्याक्सिन आइरहेको छ, हिजो आयो, भोलि पनि आउँछ, त्यसपछि पनि आउँछ, जति सक्दो चाँडो ठूलो सङ्ख्यालाई खोप उपलब्ध गराउने कुरामा नयाँ नयाँ सम्झौताका लागि प्रयास भइरहेको छ।’

    उनले यस वर्षको अन्तिम सन् २०२१ भित्र सबै जनतालाई खोप लगाइसक्ने योजना सार्वजनिक गरे। प्रधानमन्त्री ओलीले थपे, ‘अब खोपको अभावबाट हामी तड्पिनुपर्ने अवस्था आउँदैन, केही समय त्यस्तो स्थिति आउला कि जस्तो देखिएको थियो, अब नपाउने स्थिति हामीकहाँ छैन, सबैलाई खोप लगाएर सुरक्षित राख्न सक्छौँ।’

    उनले स्वास्थ्य क्षेत्रमा उपचारका सुविधा बढाउँदै नेपाली जनताको जीवन रक्षामा सरकार सफल हुने विश्वास व्यक्त गरे।

    उनले स्वास्थ्य सेवाको पर्याप्तता नभएको र साधन स्रोतको न्यूनता रहेको नेपालमा ठूलो सफलताका साथ कोभिड नियन्त्रण गरिएको बताए। कोभिडको तेस्रोरचौथो लहर चल्छ भन्ने कुरा आएको तर्फ सचेत गराउँदै प्रधानमन्त्रीले नागरिकलाई लापरवाही नगरी सजगता अपनाउन आग्रह गरे।

    वीर अस्पताल विविध कारणले सञ्चालन परिचालन र विकास अपेक्षाकृत हुन नसकेको तर्फ ध्यानाकर्षण गराउँदै उनले मानवीय र सेवाभावबाट प्रेरित भएर सम्पूर्ण शक्ति परिचालन गरी प्रभावकारी सेवामा जुट्न अस्पताल प्रशासनलाई निर्देशन दिए।
    उनले बिरामी र आफन्तसँग गरिने व्यवहारमा सुधारको खाँचो औँल्याउँदै स्वास्थ्य बलियो राख्न खानपिन र आहारविहारमा सुधार गर्न नागरिकलाई सुझाव दिए।

    औषधि विज्ञानको प्रभावकारिता विश्वको कुनै पनि विश्वविद्यालयमा रहेको तर नेपालमा भने विश्वास हराउँदै गएकामा उनले चिन्ता प्रकट गरे। प्रधानमन्त्री ओलीले त्यस अवस्थाबाट वीर अस्पतालको शुरुवात भएको र यसले नै स्वास्थ्य शिक्षाको शुरुआत गरेर अर्को ऐतिहासिक काम गरेकामा प्रशंसा गरे।

    प्रधानमन्त्री ओलीले विगतमा जस्तो नभई वर्तमान नेपालको चिकित्सा क्षेत्र धेरै बलियो भइसकेको धारणा व्यक्त गरे।

     

     

     

    प्रतिक्रिया
    थप समाचार