Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

कांग्रेसको प्रदेश नम्बर २ मा आज मतदान हुँदै

कांग्रेसको प्रदेश नम्बर २ मा आज मतदान हुँदै


मध्यान्तर
  • बिहिबार, पुष ८ २०७८

  • काठमाडौं । नेपाली कांग्रेसको आज प्रदेश नम्बर २ मा  प्रदेश अधिवेशनमा मतदान हुँदै छ ।

    प्रदेशको सभापति पदमा पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट कृष्णप्रसाद यादव र शेखर कोइरालाको समर्थनमा विमलेन्द्र निधिनिकट रामसरोज यादवले उम्मेदवारी दिएका छन्।

    उम्मेदवारको मनोनयन मंगलबार गरिएको थियो। बुधबार मतदान गर्ने कार्यक्रम रहे पनि दुई पक्षबीच विवाद हुँदा आजका लागि मतदान गर्ने कार्यतालिका बनाइएको थियो।

    जनकपुरस्थित गोपाल धर्मशालामा आज बिहान ८ बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ।

    आन्तरिक विवादले गर्दा बुधबार मतदान नभए पनि निर्वाचन समितिले भने तयारी नपुगेकोले सार्नुपरेको प्रतिक्रिया दिएको थियो । निर्वाचन अधिकृत प्रल्हाद गौतमले मत पत्र छपाइ नै बाँकी रहेकोले बिहीबारका लागि मतदानको समय दिइएको बताए।

    शेखर र विमलेन्द्र निकट कार्यकर्ताले राति मतदान गर्न नहुने हुटिङ गरेपछि बिहीबारका लागि मतदानको समय तोकिएको थियो।

    यसैबीच सभापति उम्मेदवार रामसरोज यादव पक्षले अर्का उम्मेदवार कृष्ण समर्थक युवालाई मुक्का हानेपछि चुनावी कार्यक्रम नै स्थगित गर्दै आजका लागि सारिएको थियो। मतदानस्थल वरपर बुधबारदेखि नै सुरक्षाव्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी र शशस्त्र प्रहरी खटिएका छन्।

    निर्वाचन समितिले दिएको जानकारीअनुसार ७२ पदका लागि एक सय ७४ जनाले उम्मेदवारी दिएका छन्। कृष्ण प्यानलबाट उपसभापतिमा बाराका चन्द्रशेखर यादव र सर्लाहीका नेता वीरेन्द्र सिंहले उम्मेदवारी दिएका छन्।

    साथै रामसरोजको प्यानलबाट उपसभापतिमा रौतहटका धनलाल ठोकर र सर्लाहीका बिनोद खनालले उम्मेदवारी दिएका छन्।रामाधारप्रसाद यादवले पनि उपसभापतिमा उम्मेदवारी दिएका छन्।दुई महामन्त्रीका लागि रामसरोजको प्यानलबाट सिरहाका नेता नरेश यादव र सर्लाहीका हरेसप्रसाद महतोले उम्मेदवारी दिएका छन्।

    महामन्त्रीमै कृष्णको प्यानलबाट सिरहाका उपेन्द्र यादव र पर्साका वृहस्पतिकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन्।

    नेता विनोद चौधरीले पनि महामन्त्री पदमा उम्मेदवारी दिएका छन्।

    एक महिलासहित तीन सहमहामन्त्री पदमा पनि दुई प्यानलबाटै उम्मेदवारी परेको छ। कृष्णको प्यानलबाट सप्तरीका परशुराम चौधरी र बाराका जयनरायण यादवले सहमहामन्त्रीमा उम्मेदवारी दिए।

    रामसरोजको प्यानलबाट महोत्तरीका विनोद यादव र पर्साका अरविन्द अमात्यले सहमहामन्त्रीमा उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ। नेताहरू रामनारायण महासेठ, नारायण चौधरी, निरु पोखरे र बिन्दुकुमारी यादवले पनि सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन्।

    एक महिला सहमहामन्त्रीका लागि कृष्णको प्यानलबाट सप्तरीकी रिता यादव र रामसरोजको प्यानलबाट बाराकी निर्मला सुवेदीले उम्मेदवारी दिएका हुन्। रेखा देवी महरानले समेत महिला सहमहामन्त्रीमा उम्मेदवारी दिएकी छन्।

     

    प्रतिक्रिया
    थप समाचार