Online Nepal शनिबार, असार १ २०८१

देउवाको आक्रोशः सिकेसँगको राष्ट्रघाती सम्झौता ओलीले खण्डन गनुपर्छ

देउवाको आक्रोशः सिकेसँगको राष्ट्रघाती सम्झौता ओलीले खण्डन गनुपर्छ


मध्यान्तर
  • मंगलबार, फाल्गुन २८ २०७५

  • पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखरा पुगेर सिके राउतसँग सरकारले गरेको सम्झौता राष्ट्रघाति भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । सरकारले पृथकतावादी आन्दोलन गरिरहेको सिके राउतसँग सम्झौता गरेर राष्ट्रघाती काम गरेको र प्रधानमन्त्री केपी ओलीले यसको खण्डन गर्नुपर्ने भन्दै आक्रोश व्यक्त गरेका हुन् । सम्झौतामा देश टुक्राउन जनमत संग्रह गर्ने अर्थ लाग्ने गरी ‘जनअभिमत’ भन्ने शब्द राखिएको देउवाले जिकिर गरे ।

    नेपाल प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले नेपालको कुनै पनि भूभागलाई टुक्राउने कुरा सैह्य नहुने भन्दै सिकेसँगको सम्झौतालाई राष्ट्रघाती कदमको रुपमा लिएको बताए । उनले भने– यो वा त्यो भन्ने शब्दको प्रयोग गरी देशलाई टुक्राउने कुरालाई हामी मान्दैनौं ।’ सम्झौता पछि पनि सिके राउतले जनमत संग्रह भनेर बोलिरहेको तर प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको खण्डन गर्नसमेत आवश्यक नठानेकोमा देउवाले आपत्ती जनाए ।

    उनले भने– ‘सम्झौताले मूलधारको राजनीतिमा आउने कुरा होइन रहेछ सिके राउतले नयाँ देश बनाउँछु भनिरहेको छ, यसबाट ओलीले वास्तवमै राष्ट्रघाट गरेका छन् ।’ देउवाको प्रश्न छ–सिके राउतले अलग्गै देश बनाउन सहमति गरेको भन्छ , देश टुक्राउने कुरा गरेको छ, मूलधारमा आएको भए त्यसो भन्थ्यो ? यसको प्रधानमन्त्री ओली खण्डन गर्नु पर्दैन ? सिके राउतले कसरी बोलिरहेको छ त्यतातिर पनि हेर्न देउवाले आग्रह गरे । उनले ओली सरकारले संघीयतालाई कमजोर बनाउने काम गरिरहेको र प्रजातन्त्रको खिलापमा अधिनायकवाद ल्याउँने काम गरेको आरोप पनि लगाए ।

    देउवाले प्रतिपक्ष कमजोर भयो भन्ने पत्रकारको सवालमा भोट हाल्ने बेलामा एमालेलाई हाल्ने अनि कांग्रेस कहाँ गयो, कहाँ गयो भनेर प्रश्न गर्नु सान्र्दभिक नभएको बताए । उनले एमालेजस्तो तीन महिना संसद नै चल्न नदिने पार्टी कांग्रेस नभएको दावी गरे । ओली प्रधानमन्त्री भएको एक वर्ष बितिसक्दा एउटा पनि देखाउनलायक राम्रो काम नगरेको देउवाले दाबी गरे । फौजदारी संहिताको नाममा प्रजातन्त्र र प्रेसलाई नियन्त्रण गर्ने र अधिनायकवादमा लैजाने काम गरिरहेको उनको आरोप छ ।

    प्रतिक्रिया
    थप समाचार