Online Nepal बिहिबार, बैशाख २० २०८१

प्रधानमन्त्रीको सचिवालयले भन्यो-इजरायली पक्षसँग कुरा गरेर नेपाली विद्यार्थीहरुलाई सुरक्षित स्थानमा लगिँदैछ

प्रधानमन्त्रीको सचिवालयले भन्यो-इजरायली पक्षसँग कुरा गरेर नेपाली विद्यार्थीहरुलाई सुरक्षित स्थानमा लगिँदैछ


मध्यान्तर
  • सोमबार, असोज २२ २०८०

  • काठमाडौँ । इजरायलमा बंकरमा फसिरहेका विद्यार्थीहरूको आजै उद्धार गर्ने सरकारले जनाएको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बंकरमा फसिरहेका विद्यार्थीहरू र इजरायलका सरकारी अधिकारीहरूसँग आफूहरू नियमित सम्पर्कमा रहेको बताए।

    इजरायली पक्षले तीन घन्टाभित्रै बंकरमा रहेका नेपाली विद्यार्थीको उद्धार गर्ने जवाफ दिएको उनले बताए।

    उनले आफूहरूले हिजैदेखि विद्यार्थीहरूको उद्धार गर्न आग्रह गरेको भए पनि इजरायल पक्षले बाटोमा अझै खतरा रहेको भन्दै बंकरबाट विद्यार्थी निकाल्न नमानेकाले उद्धारमा ढिलाइ भएको बताए।

    ‘हमास समूह लुकिछिपी बसेको आशंका गरिएको क्षेत्रमा विद्यार्थी बाहिर निकाल्दा सुरक्षामा खतरा हुने भन्दै इजरायल पक्षले नमानेकोले बंकरको विद्यार्थीलाई निकाल्न केही ढिलाइ भएको छ,’ मल्लले भने, ‘आज उद्धार गर्छौं भनेका छन्। नेपाली दूतावासले समन्वय गरिरहेको छ। हामी पनि बंकरमा रहेका विद्यार्थीसँग नियमित सम्पर्कमा छौं।’

    परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा केयरगिभरमा चार हजार पाँच सय जना नेपाली छन्। उनीहरू सुरक्षित रहेको मन्त्रालयले जनाएको छ। साथै इजरायलमा विभिन्न विश्वविद्यालयबाट दुई सय ६५ जना विद्यार्थी अध्ययनका लागि पुगेका थिए।

    इजरायलस्थित नेपाली दूतावासले दिएको जानकारीअनुसार धनुषाका आनन्द साह, कैलालीका नारायणप्रसाद न्यौपाने, दार्चुलाका लोकेन्द्र सिंह धामी, सुनसरीका राजेशकुमार स्वर्णकार, बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दिपेशराज विष्ट, डोटीका राजन फुलरा, डोटीकै पदम थापा, सल्यानका प्रवेश भण्डारी र कैलालीका आशिष चौधरीको निधन भएको छ।

    कञ्चनपुरका विपिन जोशी बेपत्ता छन्। सल्यानका विधान सेजुवाल, गोरखाका हिमांचल कट्टेल, दाङका प्रविण डाँगी अस्पतालमा उपचार गराइरहेका छन्।

    साथै कैलालीका धनबहादुर चौधरी, कैलालीकै वीरेन्द्र चौधरी र सल्यानका प्रमोद केसी सकुशल रहेको दूतावासले जानकारी दिएको छ। धनबहादुर उपचारपछि निको भएका हुन्।

    प्रतिक्रिया
    थप समाचार