Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

ड्रोन आक्रमण भएपछि साउदी अरेबियाले गर्‍यो तेल र ग्यास उत्पादनमा कटौती

ड्रोन आक्रमण भएपछि साउदी अरेबियाले गर्‍यो तेल र ग्यास उत्पादनमा कटौती


मध्यान्तर
  • आइतबार, भाद्र २९ २०७६

  • काठमाडौं । साउदी अरबले दुईवटा प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि तेल र ग्यास उत्पादनमा कटौती गरेको छ ।

    ऊर्जामन्त्री राजकुमार अब्दुल अजिज बिन सलमानका अनुसार आक्रमणका कारण कच्चा तेल उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेल कमी आएको छ । साउदी अधिराज्यले कुल उत्पादन गर्ने परिमाणको झन्डै आधा हो । यमनस्थित हूथी विद्रोहीका एक प्रवक्ताले आक्रमणका लागि आफूहरूले १० वटा ड्रोन परिचालन गरेको बताएको बीबीसीले जनाएको छ । साउदी प्रेस एजेन्सीले छापेको राजकुमार अब्दुल अजिज बिन सलमानको वक्तव्यमा उनले ‘ड्रोन आक्रमणका कारण अब्काइक र खुरैस प्रशोधन केन्द्रमा तत्कालका लागि उत्पादन रोकिएको’ बताएका छन् । अरामको भण्डार केन्द्रका प्रमुख कार्यकारी अधिकृतले दुवै प्रशोधन केन्द्रमा स्थिति नियन्त्रणभित्र रहेको बताउँदै आक्रमणबाट कोही हताहत नभएको बताएका छन् । अमेरिकी विदेशमन्त्री पोम्पेओले आक्रमणलाई ‘विश्वको ऊर्जा आपूर्तिमाथिको अभूतपूर्व आक्रमण’ को संज्ञा दिएका छन् । उनले भनेका छन् ‘इरानी आक्रमणको सार्वजनिक र स्पष्ट रूपमा निन्दा गर्न हामी सबै मुलुकलाई आग्रह गर्छौं । ’ बेरुतस्थित हुथी स्वामित्वको अल(मसिराह टीभीसँग कुरा गर्दै हुथी विद्रोहीका प्रवक्ता याह्या सरिआले भविष्यमा थप आक्रमण गर्न सकिने बताएको बीबीसीले जनाएको छ ।

    साउदी अरबको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र अराकोको अब्काइकमा ठूलो आगलागी भएको टेलिभिजनमा प्रसारित दृश्यमा देखिएको थियो । अरामको विश्वको सबैभन्दा ठूलो तेल उत्पादक मात्रै नभई विश्वमै सबैभन्दा बढी नाफा कमाउने कम्पनी हो । साउदीले तेल उत्पादन कटौती गरेसँगै विश्वबजारमा तेलको मूल्य बढ्न सक्ने आश‌ंका उत्पन्न भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    प्रतिक्रिया
    थप समाचार