Online Nepal शनिबार, बैशाख १५ २०८१

फ्रान्सले अमेरिका र अस्ट्रेलियाका आफ्ना राजदूतलाई फिर्ता बोलायो

फ्रान्सले अमेरिका र अस्ट्रेलियाका आफ्ना राजदूतलाई फिर्ता बोलायो


मध्यान्तर
  • शनिबार, असोज २ २०७८

  • काठमाडौं  ।  फ्रान्सले अमेरिका र अस्ट्रेलियाका आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ। विचार विमर्शका लागि राजदूतहरुलाई बोलाइएको जनाइएको छ। अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको सुरक्षा सहकार्यसम्बन्धी सम्झौता ओकसका कारण फ्रान्स रुष्ट बनेको छ।

    असाधारण गम्भीरता’ लाई मध्यनजर गरी ‘असाधारण निर्णय’ गरिएको र यो उचित रहेको फ्रान्सका विदेशमन्त्रीले बताएका छन्।

    फ्रान्सका विदेशमन्त्री ज्याँ इवरे द्रियाँले जारी गरेको वक्तव्यमा राष्ट्रपति इम्यानुएल म्याक्रोँको आदेशमा राजदूतहरुलाई फिर्ता बोलाइएको हो।

    अमेरिकाले भने राजदूत फिर्ता बोलाउने फ्रान्सको निर्णयको निन्दा गरेको छ। मतभेद हटाउनका लागि फ्रान्ससँग वार्ता गर्ने राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अधिकारीले बताएका छन्।

    यस्तै अस्ट्रेलियाले भने फ्रान्ससँगको सम्बन्ध सुधारका लागि प्रयास गर्ने बताएको छ।

    ओकस सम्झौतासँगै अस्ट्रेलियासँग भएको फ्रान्सको ५० बिलियन अस्ट्रेलियन डलर बराबरको ठेक्का धरापमा परेको छ। अस्ट्रेलियन नौसेनाका लागि १२ वटा सबमरिन बनाउनेसम्बन्धी ५० बिलियन अस्ट्रेलियन डलर बराबरको ठेक्का सन् २०१६ मा फ्रान्सले पाएको थियो।

    तर ओकसअनुसार अस्ट्रेलियालाई सबमरिन बनाउन अमेरिका र बेलायतले सहयोग गर्ने छन्।

    चीनसँग सामना गर्नका लागि अमेरिका, बेलायत र अस्ट्रेलियाले विशेष सुरक्षा सम्झौता ओकसको घोषणा गरेका हुन्।

    विकसित सुरक्षा प्रविधि एकअर्कामा साझा गर्नका लागि तीन देशले सम्झौता गरेको जनाएका थिए। तर सो सम्झौता आफ्नो हितमा नरहेको देखेपछि फ्रान्स रुष्ट बनेको हो।

    चीनको बढ्दो शक्ति तथा इन्डो–प्यासिफिक क्षेत्रमा उसको बढ्दो सैन्य उपस्थितिलाई लिएर तीन देश चिन्तित छन् र सोही चिन्ताको परिणामस्वरुप सहकार्य सम्झौता भएको हो। तर त्यसले लामो समयदेखि सहकर्मी फ्रान्स भने चिढिएको छ।

    गएको बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले संयुक्त वक्तव्य जारी गरेर नयाँ सुरक्षा सहकार्यसम्बन्धी सम्झौता ओकस घोषणा गरेका थिए।

     

    प्रतिक्रिया
    थप समाचार