Online Nepal सोमबार, बैशाख १७ २०८१

यसरी नापीदै छ सगरमाथाको उचाई

यसरी नापीदै छ सगरमाथाको उचाई


मध्यान्तर
  • बुधबार, चैत्र २७ २०७५

  • काठमाडौं । संसारकै अग्लो हिमाल नेपालको शान र गौरब बोकेको सर्वोच्च शिखर सगरमाथाको पुन उचाइ नापीदै छ । सगरमाथाको उचाइ नाप्न नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको संयोजकत्वमा चारजनाको सरकारी टोली बुधबार त्यसतर्फ जान लागेको हो ।

    सरकारी टोलीमा विभागका प्रमुख नापी अधिकृत गौतमसहित रविन कार्की, सुरजसिंह भण्डारी र युवराज धिताल रहेको उचाई मापन कार्यक्रमका संयोजक सुशील डंगोलले जानकारी दिए । गौतम सन् २०११ मा निजामती कर्मचारी सगरमाथा आरोहण दलको सदस्य भई सगरमाथाको आरोहण गरिसकेका व्यक्ति हुन् । चारजनामध्ये खिमलाल गौतम र रविन कार्की सगरमाथाको टुप्पोसम्म जानेछन्  भने सुरजसिंह भण्डारी र युवराज धिताल भने सगरमाथा आधार शिविरमै बस्ने संयोजक डंगोलले बताए ।

    सगरमाथाको टुप्पोसम्म जाने दुई आरोहीले यो सिजन सुरु भएलगत्तै आरोहण थाल्नेछन् । करिब एक महिना लाग्ने आरोहणबाट उनीहरू फर्केपछि र खुम्बु क्षेत्रको कम्तीमा ८ स्थानमा गरिएको उचाइको मापन प्राप्त भएपछि आधुनिक उपायबाट तथ्यांक अध्ययन गरिने नापी विभागले जनाएको छ । सगरमाथाको उचाइको अन्तिम रिपोर्ट सन् २०१९ को डिसेम्बरसम्म आउने संयोजक डंगोलले जनाए ।
    सगरमाथाको उचाइ मापनकै लागि भनेर चालू आर्थिक वर्षमा १५ करोड रुपैयाँ विनियोजन गरिएको छ । अध्ययनको सुरुवात चरणदेखि अन्तिमसम्मको यो रकम पर्याप्त हुने नापी विभागको भनाइ छ । सगरमाथा आरोहण दलका लागि भने ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

    सगरमाथाको आधिकारिक उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको मानिँदै आएकोमा तीन वर्षअघि गएको भूकम्पले सगरमाथाको उचाइ घटाएको भन्ने समाचार अन्तर्राष्ट्रिय रूपमा प्रचार हुन थालेपछि सगरमाथाको उचाइ पुनः मापन गर्न आवश्यक भएको विभागले जनाएको छ । यसअघि सन् १९५४ मा भारतको नापी विभागको टोलीले सगरमाथाको उचाइ नापेको थियो ।

    सन् १९९९ मेमा अमेरिकन टोलीले जिपिएस प्रणालीबाट सगरमाथाको उचाइ नापेर थप दुई मिटर अग्लो रहेको जनाएको थियो । अहिलेको अध्ययनले सगरमाथाको उचाइबारे देखिएको विवादलाई आधिकारिक रूपमा समाधान गर्ने संयोजक डंगोलले बताए । उनकाअनुसार सगरमाथाको टुप्पोसम्म पुग्ने दुईजनाले उचाइ नाप्ने विशेष मेसिन जिएनएसएस साथमा लैजानेछन् । ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम (जिएनएसएस) मेसिनले उचाइको तथ्यांक संकलन गर्नेछ । उनीहरूले संकलन गरेको तथ्यांकलाई उचाइ मापनमा नै प्रयोग हुने आधुनिक प्रणालीबाट परिवर्तन गरिनेछ । सगरमाथा आधार शिविरमा रहने दुईजनाले आरोहणको समन्वय गर्नेछन् ।

    प्रतिक्रिया
    थप समाचार