Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

फागुनमा रोकिएको स्ववियु निर्वाचन जेठ दोस्रो साता गर्न टियुको प्रस्ताव

फागुनमा रोकिएको स्ववियु निर्वाचन जेठ दोस्रो साता गर्न टियुको प्रस्ताव


मध्यान्तर
  • शुक्रबार, चैत्र २९ २०७५

  • काठमाडौं । विभिन्न विवादका कारण हुन नसकिरहेको त्रिभुवन विश्वविद्यालको स्ववियु निर्वाचन आगामी जेठ दोस्रो साता गर्न प्रस्ताव गरिएको छ । टियुले यसअघि फागुन १४ गते स्ववियु निर्वाचन गर्ने मिति तय गरेपनि निर्वाचन हुन नसक्दा पुनः अर्को मिति प्रस्ताव गरेको हो ।

    बिहीबार केन्द्रीय स्ववियु निर्वाचन समन्वय समितिले विद्यार्थी संगठनहरुसँग संयुक्त छलफल गरेको थियो । छलफलमा समिति अध्यक्ष एवम् त्रिभुवन विश्वविद्यालयकी रेक्टर प्रा.डा. सुधा त्रिपाठीले परीक्षा लगायतका कार्यक्रम नभएकाले जेठ दोस्रो साता स्ववियु निर्वाचन गर्नु उपयुक्त हुने भएकाले विद्यार्थी संगठनहरुसँग छलफल चलाइएको बताइन् । उनले स्ववियु निर्वाचनका लागि विश्वविद्यालयलाई सबै विद्यार्थी संगठनहरुको साथ र समर्थन चाहिने र विद्यार्थीकै निर्वाचन भएकाले संगठनहरुसँग छलफल भएको बताइन् ।
    अनेरास्ववियू (क्रान्तिकारी)का कार्यवाहक अध्यक्ष सुरेन्द्र बस्नेतले केन्द्रीय स्ववियु निर्वाचन समन्वय समितिका पदाधिकारीले निर्वाचनको लागि जेठ दोस्र साता उपयुक्त हुने प्रस्ताव गरिएको भन्दै बैठकमा सहभागी सबै विद्यार्थी नेताहरु पनि स्ववियु चुनाव गर्न सकारात्मक रहेको बताए । तर बैठकमा नेविसंघका प्रतिनिधि कोही पनि उपस्थित नभएकाले मिति घोषणा गरिएको छैन । नेविसंघ कार्यसमिति हाल भंग भएकाले बैठकमा प्रतिनिधित्व नभएको बुझिएको छ ।

    बैठकमा नेकपा सम्बद्ध अनेरास्ववियु र अनेरास्ववियू अखिल (क्रान्तिकारी) तथा मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीका नेताहरु सहभागी थिए । यसैगरी नयाँ शक्ति पार्टी निकट नयाँ शक्ति विद्यार्थी युनियन, संघीय समाजवादी फोरम निकट समाजवादी विद्यार्थी फोरम, राजपा निकट विद्यार्थी संगठन, नेमकिपा निकट नेपाल क्रान्तिकारी विद्यार्थी संघ, राप्रपा निकट राप्रविसं, राप्रपा संयुक्त निकट राप्रविसं (संयुक्त)), आदिवासी जनजाति विद्यार्थी महासंघ र नेपाल प्रगतिशिल विद्यार्थी युनियनका प्रतिनिधि बैठकमा सहभागी थिए ।

    प्रतिक्रिया
    थप समाचार