Online Nepal शुक्रबार, बैशाख १४ २०८१

चीनले सन् २०२१ का लागि ८०० मिलियन आरएमबी बराबरको सहयोग प्रदान गर्ने

चीनले सन् २०२१ का लागि ८०० मिलियन आरएमबी बराबरको सहयोग प्रदान गर्ने


मध्यान्तर
  • शुक्रबार, साउन २७ २०७९

  • काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का तीन दिने चीन भ्रमण सकाएर बिहीबार नेपाल फर्किएका छन् । बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनले आफ्नो चीन भ्रमण फलदायी रहेको बताएका छन् ।

    चीनसँगको द्विपक्षीय बैठकमा विगतमा भएका उच्चस्तरीय भ्रमणमा भएका महत्त्वपूर्ण समझदारीलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने विषयमा जोड दिएको उनले बताए । चिनियाँ विदेशमन्त्री वाङ यीले चीनको सहयोगमा नेपालमा सञ्चालित विकास आयोजनाहरूलाई समयमै सम्पन्न गर्ने विश्वास दिलाएको पनि उनले बताए ।

    दुई देशबीच दोस्रो चरणको काठमाडौं रिङ रोड सुधार परियोजनाको कार्य यथाशीघ्र सुरु गर्ने सहमति भएको छ । साथै केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन चीन सरकारको अनुदान सहायतामा गर्ने सहमति पनि भएको उनले बताए । यसका लागि यसैवर्ष भित्र चिनियाँ प्राविधिक टोली खटाउने कुरा भएको उनको भनाइ छ ।

    वाङ यीले चीनले नेपाललाई उपलब्ध गराउँदै आएको वार्षिक अनुदान अन्तर्गत सन् २०२१ का लागि ८०० मिलियन आरएमबी बराबरको सहयोग प्रदान गर्ने घोषणा गरेको पनि खड्काले बताएका छन् ।

    उनकाअनुसार नेपालको नुरोधमा चिनियाँ पक्षले नेपालमा रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने र नेपाललाई उपयुक्त परिमाणमा रासायनिक मल उपलब्ध गराउने विषयमा सकारात्मक कुराकानी भएको छ । चिनियाँ पक्षले नेपालको कृषि क्षेत्रमा सहयोग गर्ने सहमति जनाएको छ ।

    चिनियाँ समकक्षी वाङ यीसँगको भेटका क्रममा आफूले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिबद्धता रहेको बताएको उनले जानकारी दिए । नेपालको भूमि चीनको विरुद्धमा प्रयोग हुन नदिने कुरामा विश्वास दिलाएको उनको भनाइ छ ।

    साथै वाङ यीले नेपालको विकासको प्रयासमा नेपाल सरकारको प्राथमिकताबमोजिम चीन सरकारको निरन्तर सहयोग रहने विश्वास दिलाएको खड्काले बताए ।

    दुवै पक्षले सीमा नाकामा संयुक्त महामारी नियन्त्रण संयन्त्र स्थापना गर्ने सहमति पनि भएको छ । यसैगरी तिब्बतमा देखिएको पछिल्लो लहरको कोभिड महामारी नियन्त्रणमा आएपछि रसुवा–केरुङ तथा तातोपानी–झारमु नाकाबाट दुईतर्फी व्यापार सुचारु गर्ने र हिल्सा–पुलाङ नाकालाई एकतर्फी रूपमा खोल्ने सहमति भएको छ ।

    नेपालको अनुरोधमा तीन ९३० मिलियन आरएमबी बराबरको विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि अत्यावश्यक उद्दार तथा बन्दोवस्तीका सामानहरू र दुई ९२० मिलियन आरएमबी बराबरको औषधि तथा स्वास्थ्य साम्रगीहरू प्रदान गर्न चिनियाँ पक्ष सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    कोभिड महामारीका कारण नेपाल फर्केका चिनियाँ शिक्षण संस्थामा अध्ययनरत बाँकी इच्छुक नेपाली विद्यार्थीहरूलाई आफ्नो पढाइ सुचारु गर्न चीन फिर्ता जान दिन चिनियाँ विदेशमन्त्रीले सहमति जनाएको खड्काले बताए ।

    परराष्ट्रमन्त्री खड्का चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउन २४ गते चीन गएका थिए ।

     

    प्रतिक्रिया
    थप समाचार