Online Nepal शुक्रबार, बैशाख १४ २०८१

आयल निगमका पेट्रोल पम्प दसैँ बिदामा पनि खुल्ने

आयल निगमका पेट्रोल पम्प दसैँ बिदामा पनि खुल्ने


मध्यान्तर
  • शुक्रबार, असोज १४ २०७९

  • काठमाडौं । नेपाल आयल निगमले दसैँ बिदाका समयमा आफ्ना सबै पेट्रोल पम्पहरु खुला रहने जनाएको छ । निगमले एक सूचना प्रकाशित गरी दसैँका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दसैँको बिदामा १३ डिपोहरुसमेत खुला राख्ने जनाएको छ ।

    दसैँमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि पम्पहरु खुला राख्ने निर्णय गरेको निगमका निर्देशकले जानकारी दिए । उनका अनुसार प्रदेश १ को विराटनगर र मधेस प्रदेशको अमलेखगञ्जमा असोज १६, १९ र २१ गते डिपो खुला हुने छ भने वाग्मती प्रदेशको थानकोट र गण्डकीको पोखरामा असोज १५, १६, १८ र २१ गते खुला रहनेछन् । यसैगरी, लुम्बिनी प्रदेशको भैरहवामा असोज १५, १६, १७, २१ र २२ गते तथा कर्णाली प्रदेशको सुर्खेतमा असोज १६ र २१ गते डिपोहरु खुला हुनेछन् ।

    सुदूरपश्चिम प्रदेशको धनगढीमा असोज १६, १७ र २१ गते तथा शाखा कार्यालय चारआलीमा १६ र २१ गते डिपोहरु बिदाको दिनमा खुला रहनेछन् । नेपालगञ्ज, धनुषा, वीरगञ्ज, दाङ र दिपायलमा रहेको निगमका डिपोहरु पनि २१ गतेसम्म खुला हुने बताइएको छ ।
    बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदामा पम्पहरु २४ घन्टा खुल्ला हुने र त्यसका लागि १३ वटा डिपोहरु विभिन्न बिदाको दिनमा खुल्ला राखिने निगमले जनाएको छ । निगमका अनुसार हाल दैनिक रुपमा पेट्रोल तीन हजार पाँच सय किलोलिटर र डिजल पाँच हजार ६०० किलोलिटर खपत भइरहेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार