Online Nepal शुक्रबार, बैशाख १४ २०८१

१७ लाख उपत्यकावासी दसैँ मनाउन आ–आफ्नो घर गए

१७ लाख उपत्यकावासी दसैँ मनाउन आ–आफ्नो घर गए


मध्यान्तर
  • आइतबार, असोज १६ २०७९

  • काठमाडौं । काठमाडौं उपत्यकाबाट यस वर्ष अघिल्लो वर्ष भन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन् । यो महिनाको सुरूदेखि  फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैँ मनाउन आ–आफ्नो घर गएका हुन् ।

    गएको दुई वर्ष कोभिडका कारण दसैँ मनाउन काठमाडौं उपत्यका बाहिर जानेको संख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो । उपत्यकाबाट बाहिरका जिल्लाहरूमा जाने सबैभन्दा बढी नागरिकले सार्वजनिक यातायातको नै प्रयोग गरिरहेको राष्ट्रिय यातायात व्यवसायी महासंघ नेपालका अध्यक्ष विजय स्वाँरले बताए ।

    अहिलेसम्म १७ लाखको हाराहारीमा नागरिकले उपत्यका छाडेका छन् भने विजया दशमीको दिनसम्ममा अझै दुई लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ । “विभिन्न कारणले जान नपाएकाहरू पनि भोलि र पर्सिसम्म जानुहुन्छ,” उनले भने ।

    विगतका वर्ष जस्तै यो वर्ष पनि सवारी साधनमा तोकिएकोभन्दा बढी भाडा लिने, एउटै सिटमा दुई जनाको टिकट काट्ने, यात्रुलाई टिकट काट्दाको भन्दा फरक सिटमा राख्नेलगायतका समस्या यात्रुले भोगिरहेका छन् ।

    काठमाडौंबाट मात्रै होइन उपत्यका बाहिरका क्षेत्रीय सहरहरूबाट र जिल्ला सदरमुकामहरूबाट पनि धेरै यात्रु आ-आफ्नो घर जाने गरेका छन् ।

    कतिपय यात्रु काठमाडौं बाहिरबाट उपत्यका भित्रने भए पनि त्यो संख्या कम रहेको महासंघले जनाएको छ । आमनागरिकले उपत्यकाबाट सबै बस भरिएर गएको देखे पनि फर्किएर आउँदा खालीजस्तै हुने उनले बताए ।

    सबै क्षेत्रले यात्रुबाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा दिएर त्यसपछि मात्रै निजी र मालबाहक सवारी साधनलाई दिनुपर्ने महासंघले सरकारसमक्ष माग गर्दै आएको थियो ।

    प्रहरीले शनिबारदेखि नै अति आवश्यक पर्ने सामान ल्याउने बाहेक अठार र बीस चक्के सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

    विभागले यही असोज १५ गतेदेखि २२ गतेसम्म नारायणगढबाट काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार