Online Nepal आइतबार, बैशाख २३ २०८१

जापान रोजगारी अझै अन्योलमा !

जापान रोजगारी अझै अन्योलमा !


मध्यान्तर
  • शनिबार, जेष्ठ ४ २०७६

  • काठमाडौं । आकर्षक गन्तव्य मुलुकका रूपमा रहेको जापान रोजगारी अझै अनिश्चित छ । नेपाल र जापानबीच संयन्त्रका विषयमा सहमति जुट्न नसक्दा जापान रोजगार अनिश्चित भएको हो ।

    स्रोतका अनुसार सन् २०१९ भित्र कामदार जापान जान नपाउने निश्चितजस्तै भएको छ । कुन मोडालिटीमा कामदार पठाउने भन्ने विषय टुंग्याउन नसक्दा अझै ६ महिनाभन्दा अघि कामदार जापान जान सक्ने अवस्था न्यून छ । जापानले कुन संयन्त्रबाट कामदार लिने भन्ने विषयमा स्पष्ट खाका बनाउन सकेको छैन । संयन्त्रबारे जापान स्पष्ट हुन नसक्दा जापान रोजगारीमा अन्योलता छाएको हो ।

    जापानले सन् २०१९ अप्रिलदेखि विदेशी कामदार लिने नीति अबलम्बन गरेको थियो तर पछिल्लो समय विदेशी कामदार कुन संयन्त्रबाट भित्र्याउने भन्ने टुंग्याउन सकेको छैन । जापानले परीक्षणको रूपमा फिलिपिन्स र भियतनामबाट कामदार भित्र्याउन थालेको छ । भियतनाम र फिलिपिन्सको परीक्षण सफल भएपछि मात्र अन्य देशबाट कामदार लैजाने जापानको पछिल्लो रणनीति छ ।

    जापान रोजगारीका लागि जापानका धेरै निजी कम्पनीले सहजीकरण गर्न चासो व्यक्त गरेका छन् । भाषा परीक्षा र सीप परीक्षणसँगै उनीहरूले रोजगारदाता र कामदारको म्याचिङ गराउन चाहे पनि जापान नै अन्योल हुँदा प्रक्रिया अघि बढ्न सकेको छैन । जापानले भाषाका लागि जापान फाउन्डेसन, सीपका लागि जापान एसोसिएसन गठन गर्ने तयारी गरेको छ ।

    जापानी रोजगारी चर्चासँगै देशभर लाखौं विद्यार्थीले भाषा अध्ययन गरिरहेका छन् । रोजगारी निश्चित नहुँदा विद्यार्थीको संख्या घट्दै गएको जापानिज भाषा इनिस्च्यिुटले बताउन थालेका छन् । विश्वभाषा क्याम्पसका जापानिज तथा चाइनिज भाषा शिक्षक हरिहर कार्कीले शिक्षकको क्षमता थाहा पाएर मात्रै पढ्न भाषा इन्स्टिच्युट जानुपर्ने सुझाउँछन् । ‘होर्डिङ बोर्ड हेरेर मात्र पढ्न गइहाल्न हुँदैन’, उनले भने, ‘राम्रोसँग बुझेरमात्र इन्स्टिच्युट छनोट गर्नुपर्छ ।’ अधिकतम तह पास गरेको शिक्षक छनोट गर्न उनले सुझाए । भाषामा निपुर्णता र सीपमा दक्षता भएकाले ढिलोेचाँडो अवसर पाउनेछन् ।

    जापानले पहिलो चरणमा नेपाललगायत विभिन्न मुलुकबाट विद्यार्थी भिसामा काम गर्ने कामदारलाई नै प्राथमिकता दिने योजना अघि सारेको छ । उनीहरूलाई वर्किङमा सिफ्ट गरेर अवसर दिने जापानको योजना छ । जपानले १४ क्षेत्रमा रोजगारी खुला गरेको छ । कृषि, नर्सिङ केयर, सवारीसाधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग क्षेत्रमा कामदार लैजान लागेको छ । यस्तै जापान जाने श्रमिकले खाद्य र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी उद्योग, माछापालन व्यवसाय, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपुर्जा उद्योग एवम् हवाई उद्योगमा काम गर्नुपर्नेछ ।

    नेपालका लागि नर्सिङ, सरसफाइ, होटल र रेस्टुरेन्टमा अन्य क्षेत्रको तुलनामा बढी अवसर पाइने सम्भावना छ । जापानमा श्रम गर्न चाहने नेपालीले जापानी भाषा र सीप परीक्षा भने अनिवार्य पास गर्नुपर्नेछ । एन फोर तहको अनिवार्य भाषा पास गर्नुपर्छ । नर्सिङका लागि एन थ्री तहको भाषा चाहिन्छ । भाषा र सीप सिकेर जापान जाने नेपाली श्रमिकले त्यहाँ काम गर्दा जापानी नागरिकसरह सेवासुविधा पाउनेछन् । जापानमा मासिक दुई लाखभन्दा बढी पारिश्रमिक पाउँछन् । जापानले आगामी पाँच वर्षभत्र नेपालसहित नौ मुलुकबाट तीन लाखभन्दा बढी कामदार लैजान लागेको छ ।

    प्रतिक्रिया
    थप समाचार