Online Nepal शुक्रबार, बैशाख १४ २०८१

विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि धनगढी तनावग्रस्त, ८ राउन्ड हवाई फायर

विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि धनगढी तनावग्रस्त, ८ राउन्ड हवाई फायर


मध्यान्तर
  • शुक्रबार, मंसिर १६ २०७९

  • काठमाडौँ । धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले हिजो रातिदेखि लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो।

    स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले अहिलेसम्म प्रदर्शन भइरहेका विभिन्न स्थानमा ८ राउन्ड हवाई फायर गरेको छ। हवाई फायरपछि विद्यार्थीहरू तितरवितर भएका छन्। बिहीबार धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउँदको ग्रेडरले किचेर मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलित भइरहेका छन्। हिजो बिहान १० बजे कक्षा ८ मा अध्ययनरत साउँदको सडक निर्माणका क्रममा ग्रेडरले किचेर मृत्यु भएको थियो।

    घटनाले उग्र रूप लिएपछि बिहीबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञाबीचमै अहिले पनि धनगढीका केही स्थानमा प्रहरी प्रशासनविरूद्ध विद्यार्थीहरू नाराबाजीमा उत्रिएका छन्। प्रदर्शनमा सहभागी दर्जनौं विद्यार्थीलाई प्रहरीले पक्राउ समेत गरेको छ।

    विद्यार्थीले घटनाको क्षतिपूर्तिसहित चालकलाई कारबाहीको माग गरिरहेका छन्। अहिले कैलाली प्रहरीको कार्यालयमा छलफल जारी छ। प्रहरीले आन्दोलन रोक्न आग्रह गरिरहेको छ।

    प्रतिक्रिया
    थप समाचार