Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

क्रोएसियालाई ३–० ले हराउँदै अर्जेन्टिना फिफा विश्वकपको फाइनलमा

क्रोएसियालाई ३–० ले हराउँदै अर्जेन्टिना फिफा विश्वकपको फाइनलमा


मध्यान्तर
  • बुधबार, मंसिर २८ २०७९

  • काठमाडौं । मंगलवार राति अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३–० ले हराउँदै कतारमा जारी फिफा विश्वकपको फाइनलमा स्थान बनाएको छ ।

    यो खेलसँगै अर्जेन्टिनाका लियोनल मेसीले यसअघि लोथरको नाममा रहेको विश्वकपमा २५ खेल खेलेको कीर्तिमानसँग बराबरी गरे । यसबाहेक मेसीले विश्वकपमा अर्जेन्टिनाबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा लेखाए । विश्वकपमा ११ गोल पुर्‍याएका मेसीले यसअघि बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोडेका हुन् ।

    कतारको लुसैल रंगशालामा सम्पन्न खेलमा मेसी र युलियन आल्भारेज चम्किए । अर्जेन्टिनाको जितमा आल्भारेजले दुई गोल गर्दा मेसीले एक गोलसँगै दुई असिस्ट गरे ।

    खेलको ३४ औँ मिनेटमा कप्तान लियोनल मेसीले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

    क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले आफ्नो १८ यार्ड बक्सभित्र अर्जेन्टिनाका फरवार्ड युलियन आल्भारेजमाथि फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । जसमा मेसीले कुनै गल्ती गरेनन् ।

    पहिलो हाफमा २–० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा एक गोल थप्यो ।

    ६९ औँ मिनेटमा आल्भारेजले नै अर्जेन्टिनाको अग्रतालाई ३–० मा पुर्‍याए । मेसीले बक्सभित्रबाट निकालेको बललाई आल्भारेजले पहिलो टचमै पोस्टको दिशा दिए ।

    विश्वकपको इतिहासमा अर्जेन्टिनाले सेमिफाइनल खेलमा हार बेहोरेको छैन । अर्जेन्टिना छैटौँपटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

     

    प्रतिक्रिया
    थप समाचार