Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

कानुन पढ्ने विद्यार्थीको संख्या बढ्दो, सीमित संख्यामा पढाइ हुदाँ विद्यार्थी मर्कामा

कानुन पढ्ने विद्यार्थीको संख्या बढ्दो, सीमित संख्यामा पढाइ हुदाँ विद्यार्थी मर्कामा


मध्यान्तर
  • बुधबार, असार ४ २०७६

  • काठमाडौं । काठमाडौंको नेपाल ल क्याम्पसमा गतवर्ष एलएलबी पढ्न १० हजार ८ सय ६८ विद्यार्थी भर्ना भएका थिए । तर, क्षमताभन्दा बढी विद्यार्थी भर्ना गर्दा शैक्षिक गुणस्तर खस्किएको गुनासो आएपछि यस वर्ष न्यूनमात्र विद्यार्थी भर्ना गर्ने तयारी क्याम्पसले गरेको छ ।

    कानुन विषयको अध्ययन गराउने केन्द्रीय क्याम्पसको रुपमा रहेको नेपाल ल क्याम्पसले गत बर्ष एलएलबीका लागि ५ सय विद्यार्थी भर्ना गर्ने भन्दै सूचना निकालेको थियो । तर विद्यार्थी संगठनको दबाब र विरोधका कारण १० हजार ८ सय ५८ विद्यार्थी भर्ना भए । विद्यार्थीको चाप बढ्दै गएपछि क्याम्पसले यस वर्ष भने प्रवेश परीक्षा उत्तिर्ण विद्यार्थीलाई मात्र भर्ना गराउने निर्णय गरेको छ । विद्यार्थी भर्ना संख्या निर्धारण नै नगरी फाराम खुला गरेको भन्दै अधिवक्ता यज्ञमणी न्यौपानेले रिट दायर गरेपछि सर्वोच्च अदालतले क्याम्पसको भौतिक संरचना, जनशक्ति र क्षमताका आधारमा निर्णय गरेरमात्र भर्ना गर्न आदेश दिएको थियो ।

    सोही आदेश बमोजिम एउटा कक्षामा ६० जना विद्यार्थी रहने गरी ४ वटा कक्षामा २४० जनामात्रै पढाउन सक्ने प्रतिवेदन कानुन संकायको डिन कार्यालयमा बुझाएको क्याम्पस प्रमुख डा. डिएन पराजुलीले बताए । कानुन संकायमा डिन डा. विजयसिंह सिंजापतीले क्याम्पसले दिएको प्रतिवेदन त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्मा बुझाएको बताए ।

    मुलुक संघीयतामा गएपछि कानुन विषय अध्ययन गरेको ठूलो जनशक्ति खाँचो छ । तर कानुन पढ्नका लागि केन्द्रीय क्याम्पसमै सीमित पूर्वाधार हुँदा चाहे जतिले यो विषय पढ्न पाएका छैनन् । त्यसमाथि निजामती सेवाबाट निवृत्त भइसकेका र बढुवाका लागि शैक्षिक योग्यता थप गर्न खोज्नेहरुले पनि कानुन संकायलाई नै रोज्दा मुलुकलाई चाहिने दक्ष जनशक्ति उत्पादन नभएको तर्फ सरकारको ध्यान जानु आवश्यक छ ।

    प्रतिक्रिया
    थप समाचार