Online Nepal आइतबार, बैशाख २३ २०८१

टर्की भूकम्पका कारण ज्यान गुमाउनेको संख्या करिब आठ हजार

टर्की भूकम्पका कारण ज्यान गुमाउनेको संख्या करिब आठ हजार


मध्यान्तर
  • बुधबार, माघ २५ २०७९

  • काठमाडौँ । सोमबार गएका दुई ठूला भूकम्पपछि दक्षिणी टर्की र उत्तरी सिरियामा मृत्यु हुनेहरूको सङ्ख्या करिब ८ हजार पुगेको छ र उद्धारकर्मीहरू तीव्र रूपमा जीवित मानिसहरूको खोजीमा जुटेका छन् ।

    हालसम्म ७,८०० जनाको मृत्यु पुष्टि भइसकेको छ । एएफपी समाचार संस्थाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार टर्कीमा ५,८९४ र सिरियामा कम्तीमा १,९३२ जनाको ज्यान गएको छ । त्यहाँ मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिइएको छ ।

    अत्यधिक चिसोका बाबजुद रातको समयमा समेत खोजी प्रयासहरू जारी रहँदा भग्नावशेषमुनि बाँचेकाहरूलाई भेट्ने समय कम हुँदै गएको छ । सर्वाधिक प्रभावित टर्कीका सहरहरूमध्ये एकमा भूकम्पका कारण भत्किएका आवासीय भवनहरूमा बस्ने पीडितका आफन्त नै अङ्कुशलगायत विभिन्न औजार लिई उद्धार कार्यमा खटिएका छन् ।

    टर्कीमा सोमबार बिहान पहिलो पटक ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो । त्यसको केही घण्टापछि ७.५ म्याग्निट्यूडको भूकम्प गयो । केही स्थानमा उद्धार कार्य ढिला भएको पीडित परिवारले गुनासो गरेका छन् ।

    टर्कीका प्रायः सरकार पक्षधर सञ्चारमाध्यमहरूले स्थानीयवासी र विभिन्न टोलीहरूले चिसो र वर्षासँग जुध्दै उद्धारको प्रयास गरिरहेको जनाएका छन् । तर भूकम्पबाट प्रभावित प्रान्तहरूमा सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले सरकारको प्रयास अपर्याप्त भएको जनाइरहेका छन् ।

    धेरैले ट्विटरमार्फत मद्दतको आग्रह गरेका छन् । उनीहरूले आफ्ना आफन्तहरू भग्नावशेषमुनि रहेको र भूकम्प गएदेखि सहायता नपाएको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार