Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

जापानी भाषा परीक्षाको मोडालिटीबारे लागेन टुंगो

जापानी भाषा परीक्षाको मोडालिटीबारे लागेन टुंगो


मध्यान्तर
  • सोमबार, बैशाख ३० २०७६

  • काठमाडौं । नेपाली श्रमिकहरुका लागि गन्तव्य मुलुक बन्न लागेको जापान रोजगार दुई देशको संयुक्त कार्यसमिति (ज्वाइन्ट वर्किङ ग्रुप) को छलफलमै अल्झिएको छ ।

    जापान र नेपालबीच दुईपक्षीय श्रम समझदारी (एमओसी) मा हस्ताक्षर भएको एक महिना बितिसक्दा समेत जापानमा नेपाली कामदारहरु कहिलेदेखि पठाउने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन । मन्त्रालयले यसअघि जापान रोजगारीका लागि छुट्टै संयन्त्र निर्माण गरी छलफल प्रक्रिया अगाडि बढाइने जनाएको थियो ।

    ‘जापान रोजगारीका सम्बन्धमा दुई देशकै प्राविधिक टोलीको संयुक्त कार्यसमिति निर्माण भइसकेको छ । दुवै पक्षबीच छलफल प्रक्रिया चलिरहेको छ,’ श्रम प्रवक्ता नारायण रेग्मीले भने,’ जापानमा कहिलेदेखि र कति कामदार पठाउने भन्ने विषयमा नै छलफल भइरहेको हो ।’

    जापान र नेपालबीच गत चैत ११ गते नै श्रम समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । समझदारीपत्रमा हस्ताक्षर भएसँगै दक्ष नेपाली श्रमिकहरु जापान रोजगारीमा सरकारी संयन्त्रमार्फत जान पाउने बताइएको थियो । उक्त पत्रमा नेपाली कामदारलाई जापानी नागरिकसरह काम, तलब तथा अन्य सेवासुविधा उपलब्ध गराइने उल्लेख गरिएको छ ।
    कामदार कुन प्रक्रियाबाट, कुनकुन कामका लागि र कहिलेदेखि पठाउने भन्ने बारेमा सरकारमा नै अन्योल छाएको छ । श्रम प्रवक्ता नारायण रेग्मी भन्छन, ‘यो कुरा हामीलाई थाहा हुँदैन, संयुक्त समितिको छलफलपछि सबै कुरा टुंगो लाग्छ ।’ समितिले कामदार कसरी पठाउने, पहिलो चरणमा कुनकुन कामका लागि पठाउने भन्नेबारे नै छलफल गरिरहेको मन्त्रालयले जानकारी दिएको छ ।
    बेरोजगारका लागि जापान जाने कामदारहरुका लागि भाषा परीक्षाको मोडालिटीबारे सरकारले टुंगो लगाउन सकेको छैन । जापान जाने कामदारका लागि एनफोर तहको जापानी भाषा आवश्यक पर्ने बताइए पनि भाषाको तह र मोडालिटीबारे टुंगो नलागेको मन्त्रालयका उपसचिव दीपक ढकाल बताउँछन् । एनफोर तहको जापानिज भाषा सिकेपछि श्रमिकहरुले सामान्य बोलचालको भाषा सजिलै प्रयोग गर्न सक्छन् । कामको प्रकृति अनुसार भाषा आवश्यक रहेकाले केयरगिभर लगायत कामका लागि भने एनफोर तहभन्दा फरक तहको भाषा आवश्यक पर्ने जानकारहरु बताउँछन् ।

    जापान जाने कामदारका लागि भाषा अध्ययन कहाँबाट गराउने, कुन तहसम्मको भाषा अध्ययन गराउने भन्नेबारे छलफल भइरहेको मन्त्रालयले जानकारी दिएको छ । यसअघि जापानको मन्त्रिपरिषद् बैठकले विदेशी कामदारका सम्बन्धमा नयाँ नीति पारित गरेको थियो । जापानले कृषि, मत्स्यपालन, निर्माण, खाद्य, नर्सिङ, केयरगिभर लगायत १४ वटा क्षेत्रमा विदेशी श्रमिकहरु लैजाने भएको छ ।
    रोजगारका लागि जापान जाने नेपाली श्रमिकहरुले जापानी नागरिकसरह सेवासुविधा तथा पारिश्रमिक पाउने भएका छन् । जापान रोजगारमा जानेले भाषासँगै सिप पनि सिक्नुपर्ने भएको छ । जापानले दुई तहका कामदार लिने जनाएको छ । सम्बन्धित कामको सिप भएका कामदार र उच्च सिपयुक्त कामदार अर्धदक्ष अर्थात् सम्बन्धित कामको सिप भएका कामदार जापानमा ५ वर्षसम्म बस्न पाउने उल्लेख छ ।

    उच्च सिपयुक्त कामदारहरु भने ५ वर्ष काम गरिसकेपछि पनि फेरि उनीहरुको इच्छा अनुसार समय थप गरी जापानमा काम गर्न पाउनेछन् । यस्ता कामदारले आफ्ना परिवारका सदस्यहरु समेत जापानमा लैजान पाउने उल्लेख गरिएको छ ।
    अन्तराष्ट्रिय श्रम संगठनको मापदण्ड अनुसार २४ घन्टै बिमा सुविधासहित कामदार जापान पठाउनेबारे भएको समझदारी कार्यान्वयनमा ल्याउन सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने श्रम विज्ञहरुको भनाइ छ ।

    प्रतिक्रिया
    थप समाचार