Online Nepal शनिबार, जेष्ठ ५ २०८१

तिहारको महत्व र सांस्कृतिक परम्परा

तिहारको महत्व र सांस्कृतिक परम्परा


दीर्घराज प्रसाई
  • बिहिबार, कार्तिक २७ २०७७

  • –दीर्घराज प्रसाई

    दशैं, तिहार नेपाली जगतको परम्परागत सांस्कृतिक उमङ्गको चाड हुन् । सबै नेपालीहरु स्वदेश विदेशमा जो छौं सबैको लागि दशैं र तिहार बर्षदिनको मिलन र खुसियालीको साझा चाडको रुपमा परिचित छौं । तिहार हिन्दु तथा बौद्धहरुको हर्षेाल्लासकासाथ मनाइने चाड हो । असोज वा कार्तिक अर्थात अक्टुवर अर्थात नोवेम्वर महिनामा तिहार बडो हँसिलो मुहार दिन नेपाली हिन्दु जनमानसमा उदाउँछ । पञ्चक शुरु भएपछि तिहारको प्रारम्भ हुन्छ । हिन्दुहरु तिहारको पहिलो दिन कागलाई शुभसमाचार सुचक गर्नको लागि पूजा गर्छन् । दोस्रो दिन घरको रक्षक र यमको दूतको रुपमा कुकरलाई पुजा गर्छन् । तेस्रो दिन धनधान्यकी स्वरुपाको रुपमा लक्ष्मीको पूजा र त्यही दिन गाई तिहारको दिन ‘गौ विश्वश्यः मातर’ गाई विश्वकी आमा हुन् भनेर लक्ष्मीको प्रतीकको रुपमा गाईको पूजा गरिन्छ । तिहारलाई भारततिर दिपावली भन्छन् । लक्ष्मीपुजादेखि तिहारभरी हरेका घरघरमा रमझमकासाथ दिपावली गरिन्छ । चौथोदिन गोवर्धन पूजा अर्थात कृषि उत्पादनका द्योतककोरुपमा गोरुको पूजा हुन्छ । तिहारको गोरु तिहारका दिन नेवार जातिले म्हः पूजा पनि गर्ने हुुनाले तिहारको अर्को विशेषता छ । लक्ष्मीपूजाको दिनदेखि भाइ तिहारको रातीसम्म हिन्दुहरु देउसी–भैलो खेल्दै नाँच गाँनगर्दै विभिन्न कहावत धर्मशास्त्रमा आवद्ध भएका शब्दहरु झिकेर घरघरमा बडो रमाइलोकोसाथ देउसी खेल्छन् । पाँचौ दिन हिन्दु दिदी बहिनेहरुले आ–आफ्ना दाज्यूभाइलाई यमराजको प्रार्थनासाथ दाज्यूभाइको दीर्घायूको कामना गर्दै भाइतिहार मनाइन्छ ।

    दशै र तिहारमा टिका नलगाउने विकृती भारतीय हिन्दुहरुमा आएको छ । इष्ट इण्डिया कंपनीले भारतमा जवरजस्त ईसाइकरण गरेकाले ईसाईहरु टिका लगाउनेहरुप्रति नकारात्मक रहने गरेकाले अर्थात टिका हिन्दुहरुको पहिचान भएकाले हिन्दुहरुले आफ्नो पहिचान खुल्ने गरेर टिका लगाउन नदिएको कारणले भारत स्वतन्त्र भएपछि पनि त्यही क्रम जारिरहेको हुनसक्छ । तर दार्जिलिङ्ग, डुवर, असाम, सिक्किम, भुटान आदि नेपालीभाषी रहेको क्षेत्रहरुमा सम्पूर्ण नेपालीहरुले दशैंमा निधारभरी टिका र तिहारमा गोलो वा डाडो टिका लगाउँछन् । ‘तमोसमा ज्योतिर्गमयः’ अध्यारोमा उज्यालो रहोस् भन्ने निधारमा टिका लगाएर हिन्दुहरुले आफ्नो पहिचान दिन्छन् । तिहार नेपाली दाजुभाई दिदी बहिनीहरुको लागि तादात्म्यताको गाँठो हो । नेपाल बाहिरका नेपालीहरुले दशैं र तिहारलाई गोर्खालीहरुको पहिचानको रुपमा लिन्छन् । दशैं र तिहारलाई दार्जिलिङ्ग, सिक्किम, डुअर्स, आसाम, देहरादूनमा त दशैं र तिहारलाई गोर्खाहरुको एकताको बिंडो ठान्छन् । अमेरिका, बेलायत, यूरोपका राष्ट्रहरु, चीन, जापान, अष्टे«लिया, मलेशिया, सिंगापुर, थाइल्याण्ड आदि देशहरुमा जहाँ–जहाँ नेपालीहरु बसोबासो गरिआएका छन् उनीहरुले दशैं र तिहारलाई ठूलो उत्सवको रुपमा मनाउँछन् । यसरी हरसाल आफ्ना पहिचानबाट विभूषित हुनु यो नेपालीहरुको गौरव पनि हो ।

    पृथ्वीनाराण शाह भन्दा शताब्दियौं अगाडिदेखिनैं दशैं र तिहार यसक्षेत्रको नैं हिन्दु तथा बौद्ध तथा सबै जातिको साझा संस्कृति बनिसकेको थियो । पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरणपछि यसक्षेत्रका धर्म, कर्म, परम्परा, भेषभूषा, संस्कृतिलाई नेपाली जातिको साझा संस्कृतिमा परिणत गरिदिएर नेपाललाई विश्वमा सांस्कतिक हिसाबले समृद्ध राष्ट्रको रुपमा परिणत गरेका थिए । वि.सं. १८०० देखि नैं सम्राज्यवादी र विस्तारवादी शक्तिले अनेकौं षडयन्त्रबाट आक्रमक हुँदै आएता पनि यो भूमिलाई बिटुलो बनाउन सकेका थिएनन् । तर २०६२ सालमा भारतीय गुप्तचर संस्था ‘रअ’ ले बुनेको १२ बुँदे जालोमा अरु बुट्टा थपेर अमेरिका, युरोपका इसाई राष्ट्रहरु, ‘सीआए’ र क्रिस्चियन मिसनले यही मौका छोपेर नेपाललाई उठ्न नसक्ने गरी संघीयता, धर्मनिरपेक्ष र गणतन्त्ररुपी विषबृक्ष रोपेर पैसाको खोलो बगाउँदै यहाँका पार्टीका नेताहरु, मानव अधिकारवादी, नागरिक समाज, जनजातीका नाममा अनेकौ संस्थाका दलालहरुलाई पोस्दै आएका छन् । यसले गर्दा हर–नेपाली जनता अन्योलमा परेका छन् । त्यसैले अहिले नेपाल यस्तो संकटग्रस्त छ कि अनेकौंं चाडपर्वको समयमा रमाइलो मनाउनु भन्दा देशको चिन्ताले सबै नेपालीहरुलाई सताएको छ ।

    भारतीय कांग्रेस (आई) र उसको गुप्तचर संस्थाको दबाबमा नेपालका कांग्रेस, एमाले, माओवादी पार्टीभित्रका गद्दारहरुलाई प्रयोग गरी २०६२ मंसिरमा १२ बुँदे सहमतिमा हस्ताक्षर गराएर संविधानसभाको रट लगाएर १० बर्षसम्म नेपाललाई अस्तव्यस्त बनाएर नेपालको इतिहासको १९०३ असोजको कोतपर्वको काल रात्री झै २०७२ साल असोज ३ गते गणतन्त्र र धर्मनिरपेक्ष लादेर विश्वको एक मात्र हिन्दु अधिराज्य र राजसंस्थालाई विस्थापित गर्ने नियतले नयाँ संविधान घोषणा गरेका छन् । तर विदेशीहरुको दबाबमा यसरी देशलाई लथालिङ्ग बनाउनेहरुको बिरुद्ध नेपाली जनता आक्रोशित छन् । असोज ३ गते संविधान घोषणा भएपछि त्यही संविधानको आडमा नेपालमा २०७२ साल कार्तिक ११ गतेदेखि साम्यवादी र इसाईहरुको गठबन्दनको सत्ता कायम भएको छ । एमाले, माओवादी दुई भिन्न धारका कम्युनिष्ट हुन् । माओवादीभित्र धेरै इसाईहरु छन् । बाबुराम भट्टराई क्याथोलीक इसाई थिए । यिनले नेपाललाई जहाँसक्दो डुबाउने मात्र कुकर्म गरे । त्यही पापले उनी अहिले माआवादी पार्टी छोडेर भौतारिरहेका छन् । तर माओवादी नेता प्रचण्डको पनि कुनै भर छैन । उनी र कृष्णबहादुर महरा जस्ता धेरै इसाईहरु माओवादििभत्र छन् । यसबाट थाहा हुन्छ कि माआोवादीहरुले नेपाललाई हिन्दु अधिराज्यको रुपमा देख्न चहाँदैनन् ।

    यही स्थितिमा माओवादी प्रचण्डको खेमासँग मिलेर खड्गप्रसाद ओली प्रधानमन्त्री बनेका हुन् । त्यसबाहेक सत्ता टिकाउन यस मन्त्रीपरिषदमा ६ जना उपप्रधानमन्त्री राखेर जम्बो मन्त्रीमण्डल बनेको छ । मन्त्रीमण्डनमा अरु जति थपिएका भए पनि उनीहरु मन्त्री बनेर सान देखाउन मात्र आएका हुन् । अहिलेको सरकार भनेको एमाले र ए–माओवादीको दुबैको मिलेमतोको संयुक्त साम्यवादीहरुको सरकार हो । यो गठबन्धनमा १७ औं हजार नेपाली जनताको रगतमा होली खेलेर, राष्ट्रका विकासका पूर्वाधारहरु नष्ट गरेका माओवादी नेता प्रचण्ड जस्ता भक्षक नैं रक्षक देखिन खोजेका छन् । यो गठवन्धनले महिलाबाट माओवादी कै सिपाई प्रथम महिला ओन्सरी घर्तीलाई सभामूख, राष्ट्रपतिमा प्रथम महिला एमालेकी विद्या भण्डारी, उपराष्ट्रपतिमा माओवादीका लडाकु प्रमुख नन्दकिशोर पुन बनाएको छ । यो स्थितिमा माओवादीलाई लागेका विभिन्न लुटपाट, हत्या, आतंकका अपराधीक मुद्धाहरु सबै माफी र खारेज गर्ने र माओवादीले लुटेको कालो धनलाई सुरक्षित बनाउन पनि प्रधानमन्त्रीले सबै सर्त मान्नुपर्छ । सत्ता टिकाउनको लागि खड्ग ओलीले र माओवादी नेता प्रचण्डले चाहेको कुरा गर्नुपर्छ । यही खतरनाक तरबारको धारमा एमालेका खड्ग ओली प्रधानमन्त्री बनेका छन् । तर प्रधानमन्त्री ओलीले आफू र नेपालको भविष्य उज्वल राख्न नेपाललाई हिन्दु अधिराज्य कायम राख्न आफ्नो सम्पूर्ण क्षमता प्रयोग गरुन् । यूरोपका इसाईृ राष्ट्रहरु र अमेरिकाको दबाबमा धर्मनिरपेक्ष र गणतन्त्र घोषणा गरिएकाले भारतमा हिन्दुवादी पार्टी, भाजपाको सरकार रिसाएको छ । यसो भएपछि भारतीय जनता पार्टीको मोदी सरकार पनि सन्तुष्ट रहन सक्छ । नाकाबन्दी जस्ता खेलहरु सबै समाप्त हुनसक्छन् ।

    हामी नेपालीहरु हतोत्साह नबनी आफ्नो देशभित्रका परम्परागत मान्यतालाई जीवन्त राख्न सशक्त भइरहन सक्नुपर्दछ । राष्ट्रका पहिचान र सार्वभौम मान्यताहरु सिद्धिएपछि नेपालीको अस्तित्व पनि सिद्धिन्छ । यही बुझेर विदेशीहरु नेपाललाई लथालिङ्ग बनाउन सक्रिय छन् । दुई ठूला राष्ट्रहरुको च्यापोमा परेको यो सानो देशमा नेपालीहरुलाई राष्ट्रियताको डोरीले कस्न सक्ने आधिकारिक स्रोत नैं राजसंस्था हो । यसरी हाम्रा हिन्दु तथा बौद्ध चाड पर्वहरुलाई संरक्षण गर्न नेपालको राजसंस्था नैं आधिकारिक संरक्षक हो । नेपाली समाज र सांस्कृतिक मूल्य र मान्यतालाई एकीकृत र जीवन्त राख्नसक्ने एकताको सूत्र राजसंस्था भएकाले राजसंस्थाको निरन्तरताको अत्यावश्यक छ । हिन्दु, बौद्ध र किरातहरु गरी जम्मा नेपालमा हामी ॐकार परिवार ९६ प्रतिशत छौं । नेपालमा संवैधानिक राजसंस्था लगायत हिन्दु अधिराज्यको रुपमा घोषित नभएसम्म नेपाल स्थापित हुन सक्तैन । हामी पुकार गर्छौ– विश्वको एक मात्र हिन्दुअधिराज्यको रुपमा नेपाल युग युगान्तरसम्म जीवित रहिरहोस् ! २०७७ सालको दिपावलीको उपलक्षमा शुभकामना अर्पण गरौं– सम्पूर्ण नेपालीहरुको भविष्य उज्वल रहोस् !

    Email:[email protected]      

    प्रतिक्रिया
    थप समाचार