Online Nepal सोमबार, असार २९ २०८३

सञ्चार गृह बाहिर शंकास्पद गाडी राखिएको भन्दै रास्वपाद्वारा भर्त्सना, छानबिन गर्न माग

सञ्चार गृह बाहिर शंकास्पद गाडी राखिएको भन्दै रास्वपाद्वारा भर्त्सना, छानबिन गर्न माग


मध्यान्तर
  • सोमबार, असार २९ २०८३

  • काठमाडौं । विभिन्न सञ्चार माध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारी साधनहरू शंकास्पद रूपमा राखिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    रास्वपा महामन्त्री विपिन आचार्यले आज एक विज्ञप्ति जारी गर्दै सञ्चार गृहहरूलाई त्रसित बनाउने उद्देश्यले गरिएका यस्ता गतिविधिहरूको भर्त्सना गरेका हुन्। रास्वपाले यी घटनाको तत्काल र निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन सरकार र सुरक्षा निकायसँग माग समेत गरेको छ।

    ‘प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता र अन्य जुनसुकै कदमहरूको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यी घटनाहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सम्पूर्ण सञ्चार माध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र यस्ता शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि उनीहरूको तत्काल पहिचान गरी कानुनबमोजिम कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौं।’

    राज्यको चौथो अंगका रूपमा रहेका आमसञ्चार माध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य-मान्यताको ठाडो उल्लंघन भएको रास्वपाको ठहर छ।

    विज्ञप्तिमा रास्वपा सदैव पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिएको उल्लेख छ। कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्दै सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू पार्टीलाई किमार्थ स्वीकार्य नहुने महामन्त्री आचार्यले प्रष्ट पारेका छन्।

    रास्वपाले कुनै पनि दबाब र त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिताको आफ्नो व्यावसायिक धर्म निर्वाह गरिरहन सञ्चार माध्यमहरूलाई अपिल गरेको छ। साथै, सञ्चारकर्मी एवं सञ्चार गृहहरूको सुरक्षा तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा सदैव खडा रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार