काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। अहिले उनको वीर अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ।
उपचारमा संलग्न प्लास्टिक सर्जन डा. पीयूष दाहालका अनुसार नेपालीको शरीरको करिब ६० प्रतिशत भाग जलेको प्रारम्भिक अनुमान गरिएको छ। उनको अनुहार, घाँटी, छाती, दुवै हात तथा खुट्टाको केही भागमा गम्भीर जलन भएको चिकित्सकहरूले जनाएका छन्।
आकस्मिक कक्षमा आवश्यक प्राथमिक उपचार, औषधि र परीक्षणको प्रक्रिया पूरा गरेपछि एनेस्थेसिया टोलीसँग समन्वय गरी उनलाई आईसीयूमा सारिएको छ।
“उहाँको अवस्था अहिले निकै गम्भीर (क्रिटिकल) छ। अनुहारदेखि छाती, घाँटी, हात र खुट्टामै जलन देखिएको छ,” डा. दाहालले भने, “अहिले उहाँ बिस्तारै बोल्न सक्ने अवस्थामा भए पनि स्वास्थ्य स्थिति अझै संकटपूर्ण छ। सबै आवश्यक औषधिहरू सुरु गरेर निरन्तर निगरानीमा राखिएको छ।”
चिकित्सकका अनुसार शरीरको ठूलो भाग जलेका बिरामीहरूमा संक्रमण, श्वासप्रश्वासमा समस्या, शरीरमा तरल पदार्थको कमी (Dehydration) तथा अन्य भित्री अंगहरूमा असर पर्ने जोखिम उच्च हुन्छ। यसै कारण जलनका बिरामीका लागि प्रारम्भिक २४ देखि ७२ घण्टा अत्यन्त संवेदनशील मानिने भएकाले उनलाई चिकित्सकहरूको विशेष निगरानीमा राखिएको अस्पतालले जनाएको छ।