ए तल्लाघरे दाइ के सुन्दै छु म,
कतैकतै महान लडाकु लामखुट्टे र झिङ्गाकाे समर्थन लिई,
युद्धको भुमरीमा हाेमिइ एकले अर्कालाई दाेषी देखाइ,
एउटा हुल रगत चुसेर आफ्नो ज्यान बचाउन खाेज्दै,
अनि अर्को हुल फाेहाेरकाे डङ्गुरमा भुनभुनाउँदै,
विचरा ती माहुरीले आफूले खाई नखाई जम्मा,
गरेकाे त्यो बहुमूल्य महकाे घारमा डुबुल्की मार्न ,
लामखुट्टे र झिङ्गाहरूलाई आफ्नो हुलमा जम्मा पार्दै,
स्यालहरू ठाउँ ठाउँमा भेला हुँदै छन् रे नि यहाँ ।
ए पल्लाघरे जेठा दाइ के सुन्दै छु म,
जताततै महाभारतकाे सङ्ग्रामी एकल युद्धकाे घाेषणा गरि,
काेही घरकाे त काेही छर-छिमेकीको हात हतियार लिई,
अवश्य विजय उत्सव मनाउने दृढ सङ्कल्पका साथ,
आफूले आफैंलाई विजयकाे हस्ति ठानि तक्मा लाउँदै,
हुटिट्याउँले आकाश थामेका कथा फलाक्दै,
स्यालहरू दिग्भ्रमित पार्दै छन् रे नि यहाँ ।
ए छेउघरे कान्छा के सुन्दै छु म,
अबाेध ती लामखुट्टे झिङ्गाहरू स्यालकाे हुईईयाकाे सङ्केतमा,
नतमस्तक बनी स्वरमा स्वर मिलाई थप्पडी बजाउँदै,
अवश्य विजय हुने नैतिकहीन खाेक्राे ढाेङ रचि,
बनावटी रून्चे हाँसो हाँसि नाैटङ्की नाचहरू नाचि,
भ्रमजाल फिजाइ मनगण्ढन्ते विषाक्त तिक्तताका,
कसरमसर बाणहरू फालि रहेछन् रे नि यहाँ ।
ए पाेखरेली दिदी के सुन्दै छु म,
अचम्म आफ्नै घरकाे जग भत्किदै गर्दा अझै रमाउदै,
विध्वंसकारीहरूलाई हाैस्याउने तानाबाना बुन्दै,
शीरमा कट्टु लगाई टाेपीकाे महत्त्व नबुझि,
भुईमा लतार्दै कागहरू काँ काँ गर्दै,
महान इतिहास रचेकाे कटु वचन बाेल्दै,
बाहिर स्वाङ भित्रभने भ्वाङकाे गन्तव्यमा,
अनवरत स्यालहरू दाैडी रहेका छन् रे नि यहाँ ।
ए स्याङ्जाली दिदी के सुन्दै छु म,
भुलि सके छन् ती लामखुट्टे झिङ्गा अनि स्यालहरूले,
यी कमिला र छुचुन्द्रे जस्ता लयात्मक ताँतीमा हिड्ने,
एकलाई पर्दा अर्कोले निस्वार्थ दिलाेज्यानले साथ दिने,
महान् नैतिकवान् लडाकुहरू पनि यस धर्तीमा छन्,
भन्ने साँचाे यथार्थलाई लत्याइदै छ रे नि यहाँ ।
ए खरिबाेटे जेठा बा के सुन्दै छु म,
फिरङ्गीकाे पगरी गुथ्ने यी लामखुट्टे झिङ्गा स्यालहरूले,
हाम्राे बर्षाैदेखिकाे गाेर्खाली माैलिक इतिहास र पहिचान,
एक निमेषमै समाप्त पार्नका निम्ति तम तयार हुँदै,
षड्यन्त्रकारी प्रपञ्चका ध्वंसात्मक अस्त्र फाल्दै,
सदा सर्वदा हराभरा भएर झाङ्गिदै गरेकाे,
विविधतामा पनि एकता भएका हामी बीच,
दरार पैदा गरि फाँटाे ल्याइदै छ रे नि यहाँ ।
यसर्थ आफ्नाे अस्तित्वका खातिर जाे जे भएपनि,
अब हामी जुर्मुराउँदै एक सुत्रीय बन्धनमा बाँधाैँ,
जुन सयाैँ थरि रङ्गी विरङ्गी फूलहरूलाई एउटै,
मालामा उने सरि बनाउँदै एकत्रित गाेलबन्द,
आऊ उठाैँ जुटाैँ मिलाैँ,
दीनता हीनताले ग्रसित सर्वहारा वर्गहरू हाे,
बाेल्न नजान्ने बाेल्न सिकाैँ हिड्न नजान्नेले,
हिड्न सिकाैँ अनि हातमा हात साथमा साथ मिलाअाैँ,
हामी जस्ता कमिला र छुचुन्द्रेहरूका ऐक्यबद्धता,
देखेर ती स्वार्थी लामखुट्टे झिङ्गा र स्यालहरू पनि,
आत्मालोचना र क्षमायाचनासहित पुनः हाम्रै,
असल मार्गमा लाग्ने चाहनाले ओतप्राेत भई,
गन्तव्यमा पाइला चाल्न बाध्य हाेउन् ।