Online Nepal शनिबार, बैशाख २२ २०८१

यस्तो छ –विक्रम संवत्को इतिहास–२०७८ साल शुभ रहोस्

यस्तो छ –विक्रम संवत्को इतिहास–२०७८ साल शुभ रहोस्


मध्यान्तर
  • आइतबार, बैशाख १२ २०७८

  • –दीर्घराज प्रसाई

    २०७८ साल बैशाख १ गते बुधवार विक्रम संवत्को नयाँबर्ष प्रारम्भ भएको छ । मीन राशि समाप्त भई मेष राशि प्रारम्भ हुना साथ अर्थात मेषमा सूर्यले प्रवेश गरेको दिन वैशाख १ गतेको नवबर्ष प्रारम्भ हुन्छ । ‘अथ सूर्यवंश प्रभावाले किराँत राजन निजित्य लिच्छवि वंश प्रवर्ततेः।’–(पशुपति पुराण) अर्थात् सूर्यवंशी लिच्छवि राजाकोे प्रभावले किराँत राजालाई जिती लिच्छ विवंश शुुरु भएपछि लिच्छविवंशका पहिला राजा धर्मपाल, भूमिवर्मा विक्रमादित्य उपाधिवाट पुकारिएका सूर्यवंशी पराक्रमी चक्रवर्ती राजाबाट विशालनगर र बत्तीस पुतलीमा राजधानी स्थापना गरेर शासन गरेको बेलादेखि विक्रम संवत् उठान भएको हो । हिमवत् खण्डका स–साना राज्यहरु सेनवंशी, बाइसी, चौबिसी तथा काठमाण्डौं उपत्यका लगायत ब्रम्हपुत्रदेखि गंगाको आसपाससम्म विक्रम संवत् चलन चल्तीमा आएका प्रमाणहरु छन् । विक्रम संवत् वैदिक कालदेखि प्रचलित तिथि र बारहरुको अवलम्वन गदै आएको राष्ट्रिय संवत् हो । विक्रम संवत् पनि शक संवत्, नेपाल संवत् झैं तीथिको आधारमा चल्दै आएको हुँदा तीथिहरु थपघट भइरहने हुँदा शासन व्यवस्थामा धेरै अप्ठयारो भएकाले ज्योतिषहरुको सम्मेलनको सुझावको आधारमा तीथिहरुमा अन्तर नपर्ने गरेर चन्द्र शमशेरले विक्रम संवत् १९६१ सालमा शासन व्यवस्थामा सजिलोको लागि वैशाख १ गते, मेष संक्रान्तिदेखि गतेमा लेख्ने चलन चलाएका हुन् । विक्रम संवत्मा गतेबाट लेख्ने चलन चलेपछि अरु संवत्हरु भन्दा यो लोकप्रिय हुन गएको हो । तिथिहरु कहिले एकैदिन दुइटा आइपर्ने हुँदा धेरै असजिलो भएकाले गतेमा लेख्ने चलनपछि शक संवत् र नेपाल संवत्हरुको दाँजोमा विक्रम संवत् व्यवहारिक हुनपुगेको हो । शनिवार सार्वजनिक विदा दिने चलन पनि चन्द्र शम्सेरकै पाला देखि चलेको हो ।
    नेपाल संवत् र शक संवत्हरु अध्यावधि तिथिको आधारमा मात्र चलेका छन् । विक्रम सम्वत् १९६१ सालदेखिको मेष संक्रान्तिलाई वैशाख १ गते मानी बर्षभरीका १२ महिनाका महिनाका दिनहरु निर्धारण गरिएका हुन् । विक्रम संवत् हिमवतखण्ड नेपालका विभिन्न साना राज्यहरुमा प्रचलित भइरहेको र विशाल नेपालको सिर्जना भएपछि पनि विक्रम संवत् नेपालको राष्ट्रिय संवत्को रुपमा स्थापित भएको छ । विक्रम संवत् भन्दा १३५ बर्षपछि शक संवत्को उठान र ९३७ बर्षपछि नेपाल संवत्को उठान भएको हो । विक्रम संवत्को बर्षमा ३६५ दिन र शक संवत् र नेपाल संवत् र शक संवत्मा ३५४ दिन मात्र हुनेहँदा अन्तराष्ट्रिय हिसावले ईस्वी संवत् सँग तालमेल मिलाउन विक्रम संवत् धेरै व्यवहारिक भएको छ । ईस्वी संवत्, शक संवत्, नेपाल संवत् भन्दा विक्रम संवत् जेठो संवत् भएकाले ऐतिहासिक तथ्यलाई जीवन्त राख्न पनि योसंवत् सफल बनेकोछ ।
    इतिहास विद् श्री नयनाथ पौड्यालले नेपालको पुरातत्व विभाग राष्ट्रिय पुस्तकालयवाट प्रकाशित भाषा वंशावलीमा विक्रमादित्य राजा बारेमा किंवदन्तीहरु प्रस्तुत गर्दै बज्रयोगिनीवाट पारसमणी सहित आसिरवाद प्राप्त गरेको राजप्रसादको दक्षिणतर्फ (हालको नारायणहिटी) चतुर्मुख नारायण स्थापित गरी जोडीधारा बनाई तीर्थस्थल समेत बनाई विक्रम संवत् चलाएको कुरा उल्लेख गरेकाछन् । साँखु बज्रयोगिनीको मन्दिरदेखि केही माथि एक मन्दिरमा विक्रमादित्य राजाको टाउको रहेको र जस्को अध्यावधि बज्राचार्य वंंशका पूजारी विक्रमादित्य राजाको टाउकाको पूजा गरेर बसेका छन् । साँखुमा अवस्थित विक्रमादित्यले नेपालमा राज्य गरेका यो ज्वलन्त प्रमाण हो । उनैबाट काभे्र जिल्लाको नालामा उत्तरापुर राज्यको नाममा विक्रमादित्य राजाले राज्य गरेको किंवदन्ती प्रचलित छ । योगी नरहरिनाथले भन्नु भएकोछ–“श्री वीर पालःनृपतिःततः अभूत तस्मात अभूत विक्रमपाल भूपः”भन्ने उल्लेख गर्दै देवमाला वंशावलीमा कुनै चक्रवर्ति राजा विक्रम दित्यको बत्तिसपुतली राम मन्दिर भएको ठाँउमा राजसिंहसान थियो भन्ने पाइन्छ, भन्नु भएकोछ । यसबारेमा काभ्रे नालामा विक्रमादित्यले शासन गरेको कुरा बाशुपाशाबाट काभ्रे सिन्धु वृतान्त पुस्तकमा लेखेका छन् । लिच्छवि शासनकालमा निर्मित हरिसिद्धि मंन्दिरमा विक्रम संवत् ७११ उल्लेख भएको वंशावली छ र विक्रम संवत् ९४५मा हरिसिद्धि नाटक मञ्चन भएको हरिसिद्धि उपपुराणमा उल्लेख छ ।
    जयस्थिति मल्लको पालाको सुवर्णपत्रमा ‘विक्रम राजबर्ष १४४८ श्रीमत नेपालीकेः श्रेयोस्तु’ उल्लेख छ । त्यसपछि त्यसरी नैं मल्लकालभरी विक्रम संवत् चलनचल्तीमा भएको कुरा अभिलेखहरुमा प्राप्त छन् । मोरङ्गका राजा हरिश्चन्द्र सेन र बृषशेनको स्याहामोहरमा विक्रम संवत् १७१९ पौष वदी ४, मकवानपुरका राजा मानिकसेनले विक्रम संवत् १७८४ कार्तिक शुदी ७, विजैपुरमा बुद्धिकर्ण राईले विक्रम संवत् १८२४ नेपाली भाषामा लेखिएका कैयौं प्रमाणहरु भएको कुरा इतिहासविद् शंकरमान राजवंशीले पुरातत्व संग्रह (२०१८)मा प्रकाशित गराएका छन् । फर्पिङ्मा कनकेशरको ढोका फेरेर मुकुट चढाएको अंकित अभिलेखमा विक्रम संवत् १२९७ उल्लेख छ । गोरखाको रामेश्वर मन्दिरको रामशाहको अभिलेखमा विक्रम संवत् १६९३ उल्लेख छ । अछामको वरदादेवी मंदिरमा विक्रम संवत् १७७९ पौष उल्लेख छ । भक्तपुर दरबार नजिकैको गहिरो धाराको पश्चिमपट्टिको भित्तामा विक्रम संवत् १७३५ र भक्तपुर दरबारको तलेजु चोकको देवद्वारको तोरणको स्वर्णपट्टामा विक्रम संवत् १७४१ र भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा विक्रमाब्द १७६४ साथै नेपाल संवत् ८२८ माघ उल्लेख भएको र भक्तपुर राजदरबार कुमारी चोकमा जितामित्र मल्लको अभिलेखमा विक्रम संवत् १७३४ उल्लेख भएको कुरा नयनाथ पौडेललबाट अभिलेख संग्रहमा उल्लेख गरिएको छ ।
    राजा भूपतेन्द्र मल्लले विक्रम संवत् १७६३ उल्लेख गरेको कुरा भुवनलाल प्रधानले उल्लेख गर्नु भएको र जयप्रकाश मल्लले विक्रम संवत् १८१४मा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई नेपाली भाषामा धर्मपत्र गरी दिएको कुरा इतिहासविद् नयराज पन्तले ‘इतिहास संशोधनको प्रमाण प्रमेय’ मा उल्लेख गर्नुभएको छ । विक्रम संवत् यसक्षेत्रको प्रचलित सम्वत्को रुपमा मानिएकाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विक्रम संवत् १८२५को वसन्तपुर दरबारको अभिलेखमा– ‘राजा पृथ्वीनाराण शाहको बंश गुह्येकाली र पशुपतिका दुई पाउका धुलाका प्रसादले स्थिर भइरहोस्’ भनेर विक्रम संवत् १८२५ उल्लेख गरेका थिए । जंगबहादुरले मुलुकी ऐनलाई संग्रह गरी त्यसमा विक्रम संवत् १९१० उल्लेख भएको छ । इतिहासकार दिनेशराज पन्तले ‘राजीवलोचन जोशीका बराज्यू’ नामक पुस्तकमा विक्रम विक्रम संवत् १७२१मा लमजुङमा वीरमर्दन शाह राजा थिए र विक्रम संवत् १७४१मा लमजुङमा केहरिनारायण शाह राजा थिए । विक्रम संवत् १७९६मा पृथ्वीनारायण शाहसँग चेपेघाटमा सन्धि गर्ने लमजुङे राजा रिपुमर्दन शाह हुन् भनी (पूर्णिमा १० पूर्णाङ्कको ३९) उल्लेख गर्दै विक्रम संवत् १७२१ प्रयोग भइआएको देखाएका छन् ।
    इतिहाकिार ज्ञानमणि नेपाल लेख्छन्–΄विक्रम संवत्को प्रचलन मध्यकालमा वाइसी–चौबीसी, सेन, मल्ल, शाह राजाहरले विक्रम संवत् चलाउदै आएका थिए । केन्द्रका तीन सहरका मल्लराज्यहरमा पनि पूर्व मललकालदेखि नैं अभिलेख, हस्तलिखित, पाण्डुलिपिका वाक्यहरुमा विक्रम संवत्को प्रयोग हुँदैआएको थियो । भक्तपुरमा नवर्ष प्रारम्भ हुनुभन्दा अगाडि धमधामसाथ बिस्केटजात्रा मनाइँछ । तराईमा थारुहरु वैशाख शूरु हुने दिनदेखि नैं सिरुवा जात्रा मनाउँछन् ।’ विक्रम संवत् प्रकृतिसँग संवन्धित छ भन्ने एउटा आश्चर्यजनक कुरा नेपाल भित्र नैं देख्न सकिन्छ । ‘हरेक बर्ष मेष संक्रान्ति, नवबर्षका दिन विक्रम संवत् वैशाख १ गते सलहेस नामक फूलले उजागर गर्ने गर्छ । सिराहाको लाहानदेखि चार किलोमिटर पश्चिममा बर्षमा एकदिन मात्र फूल्ने सलहेस फूल जस्मा एउटै मात्र माला जस्तो लामो झयाम्म परेको लटरम्म फूल हो । अचम्मको कुरा अघिल्लोदिन कोपिला लाग्ने बिस्तारै आकार दिदै नयाँ बर्षको बिहानी वैशाख १ गते मालाको आकारमा फूल्दछ । बिहान फक्रने र वैशाख १ गतेको साँझदेखि ओइलीदै भोलिपल्छ झर्ने गर्छ ।
    संवत्हरुको विषयमा विक्रम संवत् १९३७ मा भारत गुजरातका विद्वान खोजकर्ता पं.भगवानलाल इन्द्रजी नेपालमा आई यहाँबाट २३वटा अभिलेख खोजी लगी लिच्छविकालमा उल्लेखित संवत्हरुलाई विक्रम सम्वत् ठह¥याएका थिए । त्यसैगरी कलकत्ता विश्वविद्यालय इतिहासका प्राध्यापक राधागोविन्द बासकले भारतको उत्तरपूर्व भागको इतिहासमा लेखेका छन–‘मानदेवको सम्वत् ३८६को चाँगुको अभिलेखको संवत विक्रम संवत् हो । यसरी विक्रम संवत् ३८६देखि प्रारम्भ भएर चपली गाउँमा रहेको अभिलेखमा लेखिएको संवत् ४८९ सम्मका संवत् विक्रम संवत् हुन् ।’ यसैगरी नेपालका खोजकर्ता इतिहासविद् शंकरमान राजवंशीले पूर्व लिच्छविकाल र उत्तर लिच्छविकालका संवत्हरु शक संवत् होइनन् भन्दै लिच्छविकालका अभिलेखमा उल्लेखित संवत्हरुलाई विक्रम संवत्नै मानेका छन् । ‘लिच्छविकालमा उल्लेखित संवत्हरुलाई शक सम्वत् होइनन्’ (लिच्छवि संवत्को निर्णय, नयराज पन्त–नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान २०४३ । ज्योतिषी पंं. सूर्यप्रसाद ढुगेल भन्छन्– ‘विक्रम संवत् प्रकृतिसँग आवद्ध छ । दिन र रात सूर्यले नैं निर्धारण गर्ने र सूर्यले एकबर्ष अर्थात ३६५ दिन १५ घडि ३१ पला ३१ प्रतिपला, यति समयमा एक चक्कर ३६० डिग्री पुरा गरेको हुन्छ । सूर्यले जव ३६० डिग्री अर्थात रासी, अंशा, कला, विकला ०० हुन्छ, त्यही समयमा मीन रासी समाप्त भई मेष रासी सूर्यमा प्रवेश गर्छन् र विक्रम संवत् अनुसार नयाँबर्ष प्रारम्भ हुन्छ । यसैगरी ३० अंशको एक महीना हुनेहँदा पहिलो ३० अंश सिद्धिएपछि वैशाख सिद्धिएर जेष्ठ महीना प्रारम्भ हुन्छ । यहीक्रमबाट ३०।३० अंश काटेपछि बर्ष पुरा हुन्छ ।’
    विक्रम संवत्को उठान प्रकृतिसँग संवन्धित भएकाले विश्वका सबै संवत्हरुको दाँजोमा विक्रम संवत् धेरै वैज्ञानिक मानिन्छ । विक्रम संवत्को आधारमा वैशाख १ गते भक्तपुरमा बिस्केट जात्रा, सुदुर पश्चिमाञ्चलमा विसपर्व, तराईमा सिरुवा पर्व, माघे संक्रान्तिमा थारुहरुको माघी पर्व, गुरुङ, तामाङ, शेर्पाहरुले मनाउने लोसार पर्व सबै विक्रम संवत्कै आधारमा चलेका हुन्छन् । विक्रम संवत् नेपालको सार्वभौम अस्तित्वसँग पनि संवन्धीत छ । किनकि एशीयाका धेरै राष्ट्रहरु चीन तथा भारत साम्राज्यवादी शक्तिको दपेटामा परेकाले त्यहाँका आदि संवत्हरु सबै विस्थापित गरिएर इस्वी संवत् लागु गरियो तर नेपाल साम्राज्यवादीले प्रभाव जमाउन नसकेकाले विक्रम संवत् पनि यथावत रुपमा प्रचलीत रहिरह्यो । त्यसैेले यो संवत् ऐतिहासिक रुपमा यो नेपालको लागि गौरव हो । नेपालमा विदेशी प्रभाव नपरेको प्रमाण स्वरुप विक्रम संवत्को निरन्तरता हो ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार