काठमाडौं । विश्व जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता कार्यान्वयनका लागि नेपाल प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री देउवाले कार्बन उत्सर्जन शून्य पार्ने प्रतिबद्धता जनाएका हुन् ।
जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) लाई स्कटल्याण्डको ग्लास्गोमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्र दिनप्रतिदिन प्रभावित हुँदै गएकाले यसको संवेदनशीलताप्रति विश्व समुदाय चिन्तित हुनुपर्ने बताए ।
उनले हिमाली क्षेत्रको विशिष्ट जलवायु संकटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय एजेण्डालाई उच्च प्राथमिकतामा राख्न विश्वका नेताहरुसँग आग्रह गरे ।
नेपालले आफ्नो अर्थतन्त्रको हरेक क्षेत्रलाई कार्बनरहित बनाउने महत्वाकांक्षी राष्ट्रिय निर्धारित योगदान (एनडिसी) पेस गरेको पनि उनले जानकारी दिए ।