Online Nepal मंगलबार, बैशाख २५ २०८१

लगानी सम्मेलनको अन्तिम तयारीमा जुट्यो सरकार, झण्डै ६ सय विदेशी लगानीकर्ता सहभागि हुँदै

लगानी सम्मेलनको अन्तिम तयारीमा जुट्यो सरकार, झण्डै ६ सय विदेशी लगानीकर्ता सहभागि हुँदै


मध्यान्तर
  • बिहिबार, चैत्र १४ २०७५

  • काठमाडौं । यहि शुक्रबार र शनिबार काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनलाई सफल बनाउन सरकार अन्तिम तयारीमा जुटेको छ । झण्डै ६ सय भन्दा बढी विदेशी लगानीकर्ता र ३ सय बढी स्वदेशी उद्योगी व्यवसायीको जमघट हुने सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न सरकार अन्तिम तयारीमा जुटेको हो ।

    सम्मेलनको प्रमुख उद्देश्य विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानीको अवसरलाई नजिकबाट चिनाउने नै हो । साथै स्वदेशी र विदेशी लगानीकर्ताबीच ‘सञ्जालीकरण’ गर्ने लक्ष्य पनि छ । विदेशी लगानीकर्तासँग सिधै डिल गर्न पाउने मञ्च भएकाले निजी क्षेत्र पनि सम्मेलनप्रति सकारात्मक छ । निजी क्षेत्रका कम्पनी बिजनेस डिलका लागि आन्तरिक गृहकार्यमा छन् ।

    यतिबेला विदेशी पाहुनालाई लक्षित गरेर सडकहरु सफा गर्ने र स्वागतद्वारहरु बनाउने काम लगभग सकिएको छ । प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने सम्मेलनमा लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गर्नेछ ।

    सबैले खुसीसाथ विदेशी लगानीकर्तालाई मुस्कानसहित स्वागत गर्ने र सुरक्षा निकायले पनि एयरपोर्टदेखि यहाँ रहँदासम्म राम्रो सुरक्षाको प्रवन्ध गर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

    सम्मेलनमा ४० मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुनेछन् । नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालस्थित बिदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजी क्षेत्र, गैर–आवसीय नेपाली तथा स्वदेशी लगानीकर्ताको सम्मेलनमा सहभागिता रहनेछ । सम्मेलनलाई लक्षित गरीसरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संशोधन गरिसकेको छ ।
    यस्तै औद्योगिक व्यवसाय ऐन संसदमा विचाराधीन छ भने बौद्धिक सम्पत्तिको अधिकारसम्बन्धी ऐन र कम्पनी ऐनमा संशोधनको तयारी पनि अघि बढाइएको अर्थमन्त्री खतिवडाले बताए ।

    प्रतिक्रिया
    थप समाचार