Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

आईएमई इन्स्योरेन्सको ‘आईजिआई विद्यार्थी बीमालेख’ योजना, एउटै बीमा पोलीसीले ३ जनाको जोखिम बहन गर्ने

आईएमई इन्स्योरेन्सको ‘आईजिआई विद्यार्थी बीमालेख’ योजना, एउटै बीमा पोलीसीले ३ जनाको जोखिम बहन गर्ने


मध्यान्तर
  • शुक्रबार, चैत्र २९ २०७५

  • काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले विद्यार्थी बीमा योजना सार्वजनिक गरेको छ । एक जना विद्यार्थीको बीमा गर्दा दुई जना अभिभावक समेतको जोखिम बहन गर्ने बीमा योजनाले विद्यार्थीको विद्यालय शुल्क, औषधोपचार खर्च समेत व्यहोर्ने आईएमई जनरल इन्स्योरेन्सले जनाएको छ ।

    काठमाडौंमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आईएमई जनरल इन्स्योरेन्सले नयाँ बीमा योजना सार्वजनिक गरेको हो । कम्पनीका सञ्चालक समितिका सदस्य प्रतापजंग पाण्डेको प्रमुख आतिथ्यमा विद्यालयहरुको छाता संगठनहरु प्याब्सनका महासचिव कुमार घिमिरे, एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा र अभिभावक संघ नेपालका अध्यक्ष कुमार पुरी समेतको उपस्थितिमा डेपुटी जिएमहरु शरण रेग्मी तथा पवन थापाले ‘आईजिआई विद्यार्थी बीमालेख’ योजना सार्वजनिक गरेका हुन् ।
    बीमा समितिबाट स्वीकृत पश्चात उक्त बीमालेख सुरुवात गरिएको कम्पनीले जनाएको छ । कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरु सहभागी हुन पाउने सो बीमालेख अनुसार विद्यार्थीको मृत्यु भएमा एक लाख रुपैयाँको बीमा रकम प्राप्त गर्नेछन् । मासिक भ्याट बाहेक ७२ रुपैयाँ र बार्षिक ८६० रुपैयाँ शुल्क तिरेपछि एक जना विद्यार्थीबाट तीन जनाको जोखिम बहन हुने कम्पनीले जनाएको छ ।

    बीमा योजना अन्र्तगत बिमित दुर्घटना वा कुनै कारणबाट स्थायी अशक्त भएमा बीमा रकमको तीन गुणा बढि अर्थात तीन लाख रुपैयाँ पाउनेछन् भने विद्यार्थीका अभिभावक मध्ये कुनै एकको निधन भएमा पाँच लाख रुपैयाँ बीमा रकम प्राप्त गर्ने आईएमई जनरल इन्स्योरेन्सका सिईओ युगेशभक्त बादे श्रेष्ठले जानकारी दिए । सिईओ श्रेष्ठले दुर्घटनाकै कारण आमा बाबु ओछ्यानमा परेको अवस्थामा विद्यार्थीको अध्ययन नरोकियोस् भन्ने हेतुले अभिभावक (आमाबुबा) को दुर्घटना बीमामा रकम बढि राखिएको बताए ।

    कम्पनीका नायब कार्यकारी निर्देशक पवन थापाले बीमा योजनाबारे प्रस्तुत गर्दै स्थायी रुपमा अंगभंग भएमा एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्मको बीमा दावी गर्न सक्नेछन् भने स्वास्थ्य उपचार, औषधोपचार सुविधा तथा दुर्घटनाकै कारण विद्यालयको शुल्क तिर्न नसक्ने अवस्था आएमा दुई महिनाको शुल्क समेत व्यहोर्ने जानकारी दिए । थापाले विद्यार्थीका संरक्षक आमा–बुवा कुनै दुर्घटनामा अशक्त भएमा विद्यालयको शुल्क समेत बीमा योजनाले समेट्ने बताए ।

    अर्का नायब महाप्रबन्धक शरण रेग्मीले एक जना विद्यार्थीको बीमा गर्दा बिमिति विद्यार्थी, बिमितका संरक्षक आमा–बुवाको स्वास्थ्य, मृत्यु बीमा समेट्ने प्रष्ट पारे । उनले भने, ‘हामीले पहिलो पटक नेपालमा विद्यार्थीको भविष्यलाई हेरेर ल्याएको बीमा योजनाले विद्यार्थी, अभिभावक तथा विद्यालयलाई लाभ दिनेछ ।’ उनका अनुसार विद्यार्थी तथा अभिभावकको दुर्घटनाको बीमा, जसमा औषधोउपचार खर्च देखि मृत्यु बीमा दावी समेत रहेको छ, विद्यालयको शुल्क समेत बीमा योजनाले व्यहोर्नेछ ।

    पत्रकार सम्मेलनमा एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटोले बालबालिकाको विषयमा तयार गरिएको योजना व्यापार मात्रै नभएर सामाजिक उत्तरदायित्व अन्तर्गत भएको बताए । उनले सरकारले सहयोग गर्नुपर्ने बताउँदै विद्यलायले शुल्क थपेर अभिभावकको ढाड सेक्ने काम गर्न नहुने र आफू मातहतका विद्यालयलाई त्यस्ता गलत काम गर्न नदिने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी, प्याब्सनका महासचिव कुमार घिमिरेले बीमा मास सुरक्षा भएको बताउँदै विद्यार्थी बीमामा सरकारले सहयोग गर्नुपर्ने बताए ।

    पत्रकार सम्मेलनमा अभिभावक संघका अध्यक्ष केशव पुरीले एउटा बीमा पोलिसीबाट तीन जनाको जोखिम बहन गर्ने योजना विद्यार्थी र अभिभावककै लागि लाभप्रद रहेको चर्चा गरे ।

    त्यस्तै कम्पनीका सञ्चालक प्रतापजंग पाण्डेले विद्यार्थी बीमा योजनाबाट लाभ लिन सम्पूर्ण अभिभावकहरुलाई आह्वान गरे । उनले बीमा समितिबाट जोखिम विश्लेषणका आधारमा शुल्क तय गरिएको बताउँदै आगामी दिनमा सरकारबाट प्राप्त सुझाव तथा बीमा समितिबाट प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्दै विश्लेषणबाट सम्भव हुने देखिएमा शुल्क घटाउँदै जाने प्रतिबद्धता व्यक्त गरे ।

     

    प्रतिक्रिया
    थप समाचार